रुकुम पुर्वमा स्याउ र ओखर खेती सम्बन्धि तालिम सञ्चालन गरिएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको तकमा जिल्लास्तरीय अगुवा कृषकहरुको लागि हिउदे फलफुल स्याउ र ओखर खेती प्रविधि सम्बन्धि तालिम सञ्चालन गरिएको हो । फागुन २ गतेबाट सुरु भएको तालिम आज सकिएको हो । तालिमको सहजीकरण प्रशिक्षक वागबानी अनुसन्धान केन्द्र राजिकोटका वरिष्ठ वैज्ञानिक राजकुमार गिरि र प्राविधिक गोकर्ण बहादुर रावलले गर्नुभएको थियो ।
तालिममा सहभागी सिस्ने गाउँपालिका ८ का इन्द्र बहादुर ओलिले तालिम उपलब्धिमूलक रहेको बताउनुभएको । तीन दिनको तालिमको अवधिमा स्याउ र ओखर खेती, खेती गर्दा ध्यान राख्नुपर्ने कुराहरु, रोग, किराको बारेमा र औषधि उपचारको बारेमा आवश्यक कुराहरु सिकेको बताउनुभयो । तालिममा सिकेको कुराहरुलाई स्याउ र ओखर खेती गर्दा ध्यान दिएर लागू गर्ने तालिममा सहभागी अर्का पुथा उत्तरगंगा गाउँपालिका १० तकका प्रवेश बुढाले बताउनुभयो । तालिममा सहभागिहरुले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र स्थानिय सरकारले घेरबारमा सहयोग गर्नुपर्ने बताएका छन् ।
तालिम समापन कार्यक्रममा बोल्दै पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरिले रुकुम पुर्वको माथिल्लो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुने भन्दै यो तालिमले स्याउ खेती गरिरहेका किसानलाई धेरै राहत मिल्ने बताउनुभयो । तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागू गरेर स्याउ र ओखर खेती गरि मनज्ञ आम्दानी गर्न उहाले किसानलाई आग्रह गर्नुभएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले यहाको आवश्यकतालाई मध्यनजर गर्दै स्याउ र ओखर खेती प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको बताउनुभयो । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा स्याउ र ओखर खेती धेरै हुने गर्दछ । यस क्षेत्रको उत्पादन र किसानलाई मध्यनजर गर्दै सैद्धान्तिक र तकमै भएको स्याउ बगैंचाबाट प्रयोगात्मक दुवै तरिकाले जानकारी गराइएको छ ।
वागबानी अनुसन्धान केन्द्र राजिकोट जुम्लाको प्राविधिक सहयोगमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । कार्यालयका प्रमुख पिताम्वर बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत समीर गिरि, कृषि शाखा प्रमुख ओम प्रकाश ओलिलगायतको आतिथ्यता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन कार्यालयका अधिकृत सम्जी घर्ती मगरले गर्नुभएको थियो ।