हिकमत प्रोतेल
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले सहिद परिवारलाई आयआर्जन कार्यक्रम अन्तर्गत ५० लाख अनुदान उपलब्ध गराएको छ । २०८० मंसिर २१ गते आर्थिक विकास समितिको संयोजक जसबहादुर श्रीपालीको अध्यक्षमा बसेको बैठकले सहिद परिवार लगायतको अन्य कृषि र पशु तर्फ विभिन्न प्रस्तावनाको माग गरिएको थियो ।
माग गरेको प्रस्तावनामा ६१ सहिद परिवारको प्रस्तावना आएको मध्ये ५० जना सहिद परिवारलाई शुक्रबार बसेको आर्थिक विकास समितिको बैठकले छनोट गरेको छ । शुक्रबारर बसेको आर्थिक विकास समितिको बैठकले ५० जना सहिद परिवारलाई जनही १ लाखको आयआर्जन कार्यक्रम अनुदान दिने निर्णय भएको हो ।
सहिद परिवारले १ लाख बराबरको आयआर्जन कार्यक्रममाबाट आफुले गर्न चाहेको कार्यक्रम गर्न सक्ने पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनु भयो । अध्यक्ष घर्तीले सहिदहरुको बलिदानले गर्दा नै देशमा संघीय गणतन्त्र स्थापना भएकोले सहिद परिवारलाई अनुदान उपलब्ध बनाउने निर्णय भएको बताउनुभयो । सहिद परिवारलाई दिइएको जनही १ लाखले आयआर्जनमा केही न केही टेवा पुग्ने अध्यक्ष घर्तीले बताउनु भयो । यो आर्थिक वर्षमा छुटेका सहिद परिवारलाई अर्को आर्थिक वर्षमा समेट्ने अध्यक्ष घर्तीले बताउनुभयो ।
सहिद परिवार तर्फको विभिन्न कार्यक्रममा टाढाका वडाहरुलाई प्राबिधिकहरुको सहयोगमा वडामै सम्झौता गर्ने बाताबरण मिलाउने प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले बताउनु भयो । यस्तै अन्य कार्यक्रममा कृषि अन्तर्गत ३६ लाख ७५ हजार र पशु तर्फ ३८ लाखको काम हुने गरि समूह फर्महरु छनोट भएको कृषि सेवा शाखा प्रमुख ओमप्रकाश ओलीले बताउनुभयो । कार्यक्रममा प्राविधिकको फिल्ड मुल्यांकन आधारमा छनोट गरिएको पशु सेवा शाखा प्रमुख भिम के.सी.ले बताउनुभयो ।