रुकुम पूर्वमा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । आजबाट देशव्यापी रुपमा संचालन भएको यो अभियान रुकुम पूर्वमा पनि एकसाथ सुरुआत गरिएको हो । जिल्लामा रहेका ९ महिनादेखी ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप अभियानमार्फत लगाउन लागिएको हो । आजबाट सुरु भएको खोप अभियान १७ गतेसम्म संचालन हुने छ ।

रुकुमकोटमा आज बिहान सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले स्वास्थ्यकर्मीलाई खोप हस्तान्त्रण गरेर औपचारिक रुपमा खोप अभियानको सुरुवात गरिएको हो । छीप्रीदहमा गाउँपालिकाका अध्यक्ष‚ प्रमुख जिल्ला अधिकारीसँगै रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइराला‚ ६ नम्बरका वडाध्यक्ष पूर्णबहादुर मल्ल‚ स्वास्थ्य कार्यालयका प्रमुख पुस्कल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

यस जिल्लाका ५ हजार ८३ जना बालबालिका दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्षित जनसंख्या रहेको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । जसमा सिस्ने गाउँपालिकाका एक हजार ६ सय ३‚ भूमे गाउँपालिकाका १ हजार ७ सय ९९ र पुथा उत्तरगंगा गाउँपालिकाका १ हजार ६ सय ८१ जना बालबालिका रहेका छन् । यस्तै खोप अभियानको लागि जिल्लामा ९८ जना स्वास्थ्यकर्मी‚ १ सय ७० जना स्वयमसेवक खटिदा ८५ वटा खोपकेन्द्रबाट खोप लगाइदै छ ।

दादुरा रुबेला विरुद्धको खोप रुकुम पश्चिम र जाजरकोटमा यसअघी नै लगाइसकिएको छ । बचेका ७५ जिल्ला मध्येमा ५१ जिल्लामा ९ महिनादेखी ५ वर्षमूनिका बालबालिका र २४ जिल्लामा ९ महिनादेखी १५ वर्षमुनिका बालबालिकालाई खोप ललगाइने छ । रुकुम पूर्वमा भने ९ महिनादेखी ५ वर्षमूनिका बालबालिकालाई मात्र यो खोप लगाइने छ । दादुरा रुबेला खोप अभियानका क्रममा छुट्न गएका नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।