रुकुम पूर्वको सिस्ने गाउँपालिकाले घुम्ती शिविर मार्फत घरदैलोमै सेवा दिएको छ । साताव्यापी कार्यक्रम बनाएर गाउँपालिकाले नागरिकलाई  शिविरमार्फत सेवा दिन थालेको हो । सोहि अनुसार गाउँपालिकाले सिस्ने गाउँपालािकाको ४ नम्बर वडा दादिङबाट शिविरको सुरुआत गरेको छ । शिविर आइतबारबाट सुरु भएको हो ।

शिविरको पहिलो दिन दादिङमा ४ सय बढीले सेवा लिएका छन् । दादिङमा १६७ जना कृषकहरुलाई विभिन्न तरकारीको बिउबिजन वितरण गरिएको छ भने १२३ जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको छ । पशुपन्छीको उपचार परामर्श तथा औषधि वितरणमा १०७ जनाले सेवा लिएका छन् । त्यस्तै ४ जनाले जेष्ठ नागरिक तथा ६ जनाले अपाङ्ग परिचयपत्र पाएका छन् ।

६ ओटा पञ्जीकरण सम्बन्धी सेवा ३ वटा जन्मदर्ता १ मृत्यु दर्ता १ सामाजिक सुरक्षा सेवा दर्ता सेवा दिइएको सिस्ने गाउँपालिका प्रशासन शाखा प्रमुख अरुण ओलीले जानकारी दिनुभएको छ । साथै उक्त शिविरबाट वडाका नागरिकहरुलाई मेलमिलाप सम्बन्धी आवश्यक सल्लाह सुझाव र विभिन्न हिंसामा परेका हिंसा प्रभावितहरुलाई प्रामर्श सेवा पनि दिईएको छ भने शिविरमा ४ सय १८ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। यसरी गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडामा सञ्चालन गर्दा जेष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाहरुलाई सहज भएको सिस्ने ४ दादिङकी की मिना बुढाले जानकारी दिनुभएको छ ।

स्थानीय सरकार आएपछि पहिलेकाे भन्दा धेरै सहज भएको र सेवा लिनेहरुकाे तछाडमछाड भएको सिस्ने ४ दादिङकी शितल घर्तीकाे भनाइ छ । त्यस्तै स्थानीयहरुले अलि भौगोलिक हिसाबले विकट ४ नम्बर वडा जस्तो ठाउँहरुमा वडामा भन्दा पनि सेवा बढाएर २/३ ठाउँमा शिविर सञ्चालन गरे जेष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाहरु लाभान्वित हुने बताएका छन ।

घुम्ती शिविर मंगलबार २९ गते वडा नम्बर ८ धपेको वडा कार्यालयमा, ३० गते वडा नम्बर ७ सान्चौरको वडा कार्यालयमा, र चैत्र १ गते वडा नम्बर ३ पोखरा वडा कार्यालयमा सन्चालन हुने सिस्ने गाउँपालिकाले जनाएको छ । गाउँ पालिकाले उक्त घुम्ती सिवीर सम्बन्धित वडा कार्यालयमा विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र सबैकाे उपस्थितीका लागि यस अघिनै एक सुचना जारी गरि सबैमा जानकारी बनाइसकेकाे छ ।