रुकुम पूर्वमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले त्रैमासिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम गरेको छ । कार्यालयले स्थानीय तहसँग त्रैमासिक समिक्षा गोष्ठी तथा २०८१ को लागि योजना तर्जुमा गोष्ठी कार्यक्रम गरेको हो । सिस्ने गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रममा कार्यालयका प्रमुख पिताम्बर बस्नेतले कार्यालयले तेस्रो चौमासिकमा गरेका कामकाज तथा खर्च बझेटको बारेमा जानकारी गराउनुभएको थियो ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वमा चालु आर्थिक वर्षको लागि प्रदेश सरकारबाट ५ करोड ५७ लाख रुपैयाँ बजेट आएको थियो । जसअन्तर्गत हालसम्म १ करोड ५६ लाख ८९ हजार ८ सय रुपंयाँ बजेट अर्थात ३७ दशमलव ६० प्रतिशत बजेट खर्च भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कार्यालय प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा कार्यालयले कृषि र पशुको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । तोरी, गहुँ, मकै र आलुको बिज वृद्धी कार्यक्रम, बर्खे आलु र स्याउ विकास कार्यक्रम, सिचाई सहित कृषि विकास कार्यक्रम, खर्खे आलु ब्लक विकास कार्यक्रम, फलफूल बगैँचा सुदृढिकरण कार्यक्रम, जैविक विषादी र प्राङगारिक मल उत्पादन तथा उपयोग प्रवर्धन कार्यक्रम सञ्चालन गरेको कार्यालयक प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ ।

यस्तै पोषण सुधारका लागि ग्रामिन कुखुरा पालन, बङ्गुर तथा भेडा पालन, हिउदे फलफूल वितरण कार्यक्रम, भकारो सुधार तथा कृषि प्रवर्द्धन कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, पशुपन्छीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे, स्वाइनफिवर, पिपिआर, लम्पिस्कन, रानीखेत रोग नियन्त्रण खोप कार्यक्रम सञ्चालन गरिएको समिक्षा गोष्ठीमा जानकारी गराइएको छ । हिउदे आलु खेती र पिविएस बिउ आलु उत्पादन खेती प्रविधि प्रदर्शनी, भेडाबाख्रामा बाह्य परजिवि उपचारको लागि डिपिङ्ग ट्याङ्की प्रविधि प्रदर्शनी लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालयले जानकारी गराएको छ ।

साथै यस अवधिमा कृषि र पशु सम्बन्धी विभिन्न खालका शिविर, तालिम, गोष्ठी, अभिमुखिकरण जस्ता कार्यक्रमहरु सम्पन्न गरिएको समिक्षा गोष्ठीमा जानकारी गराइएको छ ।

यस्तै कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालन गर्ने योजनाहरुको बारेमा छलफल तथा सहभागि सरोकारवालारुबाट सुझाव सङ्कलन गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप-प्रमुख मोहन बहादुर केसि, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिले यश जिल्लाको आवस्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गर्नुभएको छ । प्रदेशको एक मात्र प्राङ्गारिक जिल्लाको रुपमा रहेको यस जिल्लाको जैविकतालाई बचाई राख्ने गरि योजना निर्माण र कार्यान्वयनमा जोड दिने उहाहरुको भनाई छ ।

सहभागीबाट आएका सुझावलाई निति र विधिमा राखेर योजना निर्माण गर्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बस्नेतले राज्यले कृषिमा लगानी गरिरहेको तर किसानले अपेक्षित रुपमा काम गर्न नसकेको उहाको भनाई छ । कार्यालयबाट अनुदान लिएका कतिपय किसानहरुले भनेअनुसारको काम नगर्दा समस्या भइरहेको बताउदै सबै किसानलाई राज्यको लगानी खेर जान नदिन तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित कार्यालयका कार्यालय प्रमुख, गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख एवम प्रतिनिधि, राजनितिक दलका प्रमुख प्रतिनिधि, किसान तथा अगुवा, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अधिकृत खिम बहादुर रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।