रुकुम पूर्वमा तीन हजार ५० जना बालबालिकालाई आई.पि. भि. खोप लगाइदैँ छ । आज रुकुमकोटमा आई.पि. भि. खोप अभियान २०८१ खोप समन्वय समितिहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेर सो कुराको जानकारी गराइएको छ ।
यो खोप अभियान यहि जेठको १३ गतेदेखी २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पुस्कल श्रेष्ठले जानकारी गराउनुभएको छ । यो खोप बालबालिकालाई पोलियोबाट बचाउनको लागि लगाइन्छ । यो पोलियो भाइरस Type 1, Type 2 र Type ३ गरि तीन प्रकारको हुन्छ ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई यो खोप लगाइने छ । त्यो अवधिमा नेपालमा भ्यक्सिन अभावले खोपबाट छुटेकाहरुलाई लक्षित गरी यो अभियान सञ्चालन गिरएको हो ।
यो समयमा जन्मिएका बालबालिका विद्यालय उमेर समुहको बालबालिका भएका कारण खोप केन्द्र विद्यालयलाई तोकिएको छ । रुकुम पुर्वका १ सय ६ ओटा विद्यालयबाट यो खोप लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी गराएको छ । जस अन्तर्गत सिस्ने र भुमे गाउँपालिकामा ३३/३३ ओटा र पुथा उत्तरगंगा गाउँपालिकामा ४० वटा विद्यालयलाई खोप केन्द्र तोकिएको छ । यो खोपको लागि सिस्ने गाउँपालिकाका एक हजार ४ सय ८४, भुमे गाउँपालिकामा ७ सय ६६ र सिस्ने गाउँपालिकामा ८ सय बालबालिका लक्षित बालबालिकाको संख्या छ ।
आज जिल्लास्तरमा अभिमुखीकरण गरिएकोमा यो अभिमुखीकरण कार्यक्रम पालिकास्तरमा पनि सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप-प्रमुख मोहनबहदुर केसी, प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्मा, शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतम, रुकुम पूर्व अस्तालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेनद्रराज कोइराला, स्वास्थ्य कार्यालय प्रमुख पुस्कल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । कर्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुकुम पूर्वका कोल्ड चेन निरिक्षक मनोज श्रेष्ठले गर्नुभएको थियो ।