रुकुम पूर्वमा मौरी पालक कृषकहरुको जिल्लास्तरीय तदर्थ सञ्जाल गठन गरिएको छ । तदर्थ समितिको अध्यक्षमा सिस्ने ३ पोखराका ओमप्रकाश खड्का सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मिलन कुमार बुढा मगर, सचिवमा कमानसिंह डागी, कोषाध्यक्षमा कमला ओली सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भिम बहादुर रावल, भिम बहादुर पुन, दुर्गा प्रसाद गुरुङ, जय बहादुर मल्ल, कमानसिंह कुवंर रहनुभएको छ ।
यो तदर्थ समितिले अबको तिन महिनापछी अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने छ । मौरी पालन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरी शर्मा, महासिचव लिलापती घिमिरेको उपस्थितीमा यो तदर्थ सञ्जाल निर्माण गरिएको हो । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले आज रुकुमकोटमा बाली बस्तु विशेष कृषि मौरीपालक कृषकहरुको जिल्लास्तरीय सञ्जाल गठन तथा परिचालन कार्यक्रमको आयोजना गरेर सञ्जाल गठन गरेको हो ।
रुकुम पूर्वको विभिन्न ठाउँमा मौरी पालन गरिदैँ आइएको छ । मौरी पालनलाई व्यवसायिक रुपमा अगाडी बढाउन र व्यवस्थित गर्नको लागि जिल्लामा पहिलो पटक मौरीपालक कृषकहरुको सञ्जाल गठन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार यस सञ्जालले जिल्लामा मौरीपालक कृषकहरुको सुची तयार गर्ने, मौरीपालक कृषकहरुलार्इ एकताबद्ध बनाउने, मौरीपालनसँग सम्बन्धित सेवा प्रदायक संघ संस्थासँग समन्वय सहकार्य गर्ने जस्ता कार्य गर्ने छ । यसैगरी मौरीपालन सम्बन्धि निति निर्माण गर्न; कार्यक्रम बनाउन तथा कार्यक्रम सन्चालन गर्न सहज बनाउने, मौरीपालन सम्बन्धि प्राविधिक ज्ञानको प्रचार प्रसार गर्न सहज बनाउने तथा मौरीपालन व्यवसायको व्यवसायिकरण गर्न सहयोग पुर्याउने लगाएतका कार्यहरु गर्ने कार्यालयका प्रमुख बस्नेतले बताउनुभएको छ ।
हाल रुकुम पूर्वमा मौरीको गोला संख्या एक हजार ७ सय हरेको छ । यहाँ मुढे घार, खोपे घार र आधुनिक घारमा मौरी पालन गरिदै आइएको छ । यसपालीको सिजनमा यस जिल्लामा १२ मेट्रिक्टन मह उत्पादन भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । जसमा ९.६ मेट्रिक्टन मह बिक्री भएको छ भने यसबाट १ करोड १५ लाख २० हजार रुपैयाँ आम्दानी भएको बताइएको छ ।
मौरीपालन व्यवसाय गर्दै गर्दा विभिन्न खालका समस्या तथा चुनौतीहरु भने थपिदै गएका छन् । वन जंगलमा ह्रास र वर्षै भरी चरणको कमि, चिउरीका बोटहरु पुराना हुँदै जानु; नयाँ बोट रोपण कार्य अति कम; तोरी खेती घट्दो क्रममा रहनु, किटनाशक बिषादीको प्रयोग दिन प्रति दिन बढदै जानु, मौरीपालन सम्बन्धि काम गर्ने निकाय तथा व्यक्ति मार्फत दिईने प्राबिधिक सेवाको अभावले गर्दा समय समयमा मौरीपालनमा देखिएका समस्याहरुको तत्काल समाधान हुन नसक्नु लगाएतका समस्या तथा चुनौतीहरु देखिएका छन् ।
यस्तै दक्ष जनशक्तिको कमि, गुणस्तरीय मौरीपालन तालिमको अभाब, बाहृ तथा आन्तरिक क्यारेन्टाइन नहुनु, मौरी पकेट क्षेत्र निर्धारण नितिको अभाव, चरण क्षेत्रमा मौरी कृषकहरुको लगानी न्यून, काँचो मह काढ्ने प्रबृति अत्यधिक हुनु, अधिकांस मह बच्चा कक्षबाट निकाल्ने प्रबृति बढ्दै जानु, महको चाका सहित मह काढ्ने प्रबृति बढि हुनु, मह महदानीको प्रयोग नहुनु लगाएतका कुराहरुले मौरी पालन व्यवसायमा समस्या तथा चुनौतीहरु थपिदै गएको कार्यालयले जनाएको छ ।
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मौरी पालन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरी शर्मा, महासिचव लिलापती घिमिरे लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका कृषि शाखाका प्रमुख एवं प्रतिनिधि, तीन वटै गाउँपालिकाका मौरी पालक कृषकहरुको उपस्थिती रहेको थियो । एकिकृत कृषि तथा पशपंछी विकास कार्यालयका अधिकृत खिम बहादर रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका अधिकृत सम्झी घर्ती मगरले गर्नुभएको थियो ।