युरोपियन ईन्भेस्टमेन्ट बैंकको ऋण लगानी सहयोगमा रुकुमपूर्वको दुई स्थानमा नेपाल विद्युत् प्राधिकरणले ३३/११ केभी क्षमताका सवस्टेसन निर्माण गर्दै छ । भूमे गाउँपालिका–२ काँक्री र सिस्ने गाउँपालिका–५ रुवाबाङमा विद्युतको सवस्टेसन निर्माण गरिँदै छ ।
जसमा भूमे गाउँपालिका–२ काँक्रीको सवस्टेसन निर्माण कार्य सुस्त रूपले काम भइरहेको छ । भने सिस्ने गाउँपालिका–५ रुवाबाङको सवस्टेसन निर्माण कार्य सुरु नै गरिएको छैन् । काँक्रीको सवस्टेसन निर्माणको कार्य हाल केही पर्खाल मात्र लगाइएको छ । त्यो भन्दा थप कार्य अघि बढाइएको छैन् । २०७९ माघ महिनाबाट काम सुरु गरी ०८१ माघ महिना भित्र काम सम्पन्न गर्ने गरी ठेकेदारले कामको जिम्मा लिएको थियो । काँक्रीको सवस्टेसन निर्माणको लागि इथोस इन्डिया र रुवाबाङको सालासार इन्डियाले ठेक्का पाएको छ ।
सवस्टेसन निर्माण व्यवसायका मेनेजर विजय सेन खड्काका अनुसार अब सवस्टेसन निर्माण कार्यले गति लिने बताउनुभयो । सवस्टेसनका सामग्री देश बाहिरबाट खरिद गरेर ल्याउनु पर्ने भएकोे उक्त प्रक्रियाको कामले गर्दा निर्माण कार्यमा ढिलाइ भएको खड्काले बताउनुभयो । सामग्री खरिद भन्सार महसुलको प्रक्रियाको काम पूरा भएकोले अब काँक्रीको निर्माण कार्यलार्ई गतिमा ल्याइने उहाँले बताउनुभयो । साथै रुवाबाङको सवस्टेसन निर्माण कार्य पनि अबको केही दिनबाट काम सुरु गर्ने मेनेजर खड्काले बताउनुभयो ।
जिल्लामै सवस्टेसन नहुँदा हाल विद्युत् अनियमिता भइरहेको छ । जिल्लामै दुई सवस्टेसन निर्माण भए जिल्लामा भइरहेको विद्युत् अनियमिताको समस्या केही हत्त सम्म हट्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुमपूर्वका प्रमुख प्रमोद खनालले बताउनुभयो । वितरण केन्द्रको तर्फबाट सवस्टेसन निर्माण जिम्मा लिएको निर्माण व्यवसायलाई समयमै काम सम्पन्न गर्ने राय दिइ राखेको खनालको भनाइ रहेको छ ।