भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता  तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । २ सय ११औं भानु जयन्तीको अवसरमा राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वी भागकाे आयाेजनामा खुल्ला कविता प्रतियोगिता  तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

परिषद्ले खुला शिर्षकमा कविता प्रतियोगिताको आयोजना गरेको थियो । कविता वाचन प्रतियोगितामा ११ जनाले सहभागिता जनाएको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष जमुना गौतम ( जानु ) ले जानकारी दिनुभएको छ ।

जसमा कविता वाचन प्रतियोगितामा भूमे गाउँपालिका वडा नम्बर ५ का बिसनमाया विश्वकर्मा प्रथम हुनुभएको छ । त्यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ५ का शारदा सुनार दाेस्राे, सिस्ने गाउँपालिका वडा नम्बर ६ का टिका केसी तेस्राे र सिस्ने गाउँपालिका वडा नम्बर २ का रमिता रसाइली सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा बिजयी हुने प्रथम, द्वितिय, तृतिय र सान्त्वना लाई क्रमशः १ हजारकाे साथमा प्रमाणपत्र, ८ सयकाे साथमा प्रमाणपत्र, ५ सयकाे साथमा प्रमाणपत्र र सान्त्वनालाई प्रमाणपत्र प्रदान गरिएकाे र  राप्ती साहित्य परिषदबाट उपलब्ध भएका आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वी भागले जनाएको छ ।

२ सय ११औं भानु जयन्तीको अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले साहित्यले सबैको साेचाइ परिवर्तन गर्नमा ठुलो भुमिका खेलेको उल्लेख गर्नुभएको छ । उहाँले रुकुम पूर्वमा पनि बिस्तारै साहित्यिक गतिविधि बढ्दै गएको बताउनुहुदै साहित्य रचना गर्दा धेरै कुरामा  अध्यन अथवा ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

कर्मचारी मिलन केन्द्र रुकुम पूर्वका अध्यक्ष पिताम्बर बस्नेतले पनि साहित्य रचना गर्न आफुलाई नआएपनि साहित्य रुचिकाे बिषय भएको बताउनुभएको छ । अध्यक्ष बस्नेतले साहित्य मार्फत हरेक कुराहरूकाे खबरदारी तथा सचेतनामुलक सन्देशहरु पनि फैसलाउन सकिने बताउदै प्रतियोगितामा भाग लिने सबैलाई उज्वल भविष्यकाे कामना व्यक्त गर्नुभएको छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष जमुना गौतम ( जानु ) ले आगामी दिनहरुमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुने अतिथिहरु, प्रतियाेगिहरु र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष जमुना गौतम ( जानु ) काे अध्यक्षतामा सुरु भएको उक्त खुल्ला कविता प्रतियोगिता  तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रममा जिसस प्रमुख श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियोे ।त्यस्तै कार्यक्रममा कर्मचारी मिलन केन्द्र रुकुम पूर्वका अध्यक्ष पिताम्बर बस्नेत, डिभिजन वन कार्यालय रुकुम पूर्वका प्रमुख जितेन्द्र सिंह खड्का, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका सल्लाहकार भुवनेश्वर उपाध्याय, रुक्मिणी माविका प्रधानाध्यापक चन्द्रबहादुर मल्ल, रुक्मिणी माविका  सहायक प्रधानाध्यापक पञ्च बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष डिकेन्द्र शाहकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका सदस्य सर्जना कार्कीले गर्नुभएको थियो ।