रुकुम पूर्वमा पानी परिक्षण गर्दा इकोली भेटिएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको केहि ठाउँमा नमुना रुपमा पानीको परिक्षण गर्दा अधिकांस ठाउँको पानिमा इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय रुकुम पूर्वले नमुनाको रुपमा ३२ ठाउँको पानी परिक्षण गर्दा २२ ठाउँको पानिमा इकोली भेटिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् ल्याव टेक्निसियन निम प्रसाद गिरीले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार तुलनात्मक रुपमा भूमे गाउँपालिकामा भन्दा सिस्ने गाउँपालिकामा परिक्षण गरिएको पानीमा इकोली बढी देखिएको छ । सिस्ने गाउँपालिका ६ को लुस्पा धाराको ४ ठाउँको पानी परिक्षण गर्दा ४ ठाउँकै पानीमा इकोली भेटिएको छ । सिस्ने ५ को ४ ठाउँ र सिस्ने ३ पोखराको ४ ठाउँ तथा रुकुम पूर्व अस्पतालको ५ ठाउँको पानी परिक्षण गर्दा यी सबै ठाउँको पानीमा इकोली देखिएको ल्याब टेक्निसियन गिरीले बताउनुभएको छ ।
उहाँकाअनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको ४ ठाउँको पानी परिक्षण गर्दा एक ठाउँकोमा इकोली देखिएको छ भने ३ ठाउँको पानी सुरक्षित तथा पिउनयोग्य रहेको छ । यस्तै भूमे गाउँपालिका ६ महतमा ४ ठाउँको पानी परिक्षण गर्दा ४ ठाउँकै पानीमा इकोली भेटिएको छ । भूमे ७ धर्मशालामा ३ ठाउँ तथा भूमे २ को काँक्री र खाबाङ बगरको ४ ठाउँमा पानीको नमुना परिक्षण गर्दा इकोली नदेखिएको पाइएको छ ।
३२ ठाउँको पानी परिक्षण गर्दा २२ ठाउँ अर्थात ६५ प्रतिशत ठाउँको पानीमा इकोली देखिनु भनेको सामान्य कुरा नभएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । गत साल पनी पानीको नमुना परिक्षण गर्दा अधिकांस ठाउँको पानीमा इकोली भेटिएको थियो । त्यतीबेला पनि खानेपानी सुरक्षा योजना लागु गर्ने भनेर छलफल गर्दा पनी अहिलेसम्म यी ठाउँमा खानेपानी सुरक्षित योजना लागु गर्नतर्फ कसैको ध्यान गएको पाइएको छैन् ।
दुषित पानीको प्रयोगले गर्दा मानिसहरुलाई विभिन्न पानीजन्य रोगहरु लग्ने गर्दछन् । दुषित पानीको कारण टाइफाइड , प्यारा-टाइफाइड, सालमोन्यालोसिस, सिगोल्लोसिस, आउँ, हैजा, झाडापखाला, जाइडिया जस्ता रोगहरु लाग्ने गर्दछन् । हामीले पिउने पानी स्वच्छ नभएको कारण यसले हाम्रो स्वास्थ्यमा समस्या ल्याउने भन्दै पानीलाई सुद्धिकरण गरेर मात्र पिउन आम नागरिकलाई आग्रह गरिएको छ ।