रुकुम पूर्वमा श्रीमतीको हत्या गरि फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । श्रीमतीको हत्या गरि फरार रहेका भूमे गाउँपालिका वडा नम्बर ६ का जीवन ओलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

२५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या आशङ्कामा २७ वर्षीय जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरि अनुसन्धान गर्दा ओलीले हत्या गरेको कबुल गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

२८ गते शुक्रबार साँझ अप्सराको हत्या भएको थियो । भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक तथा डिएसपी माधव राज खरेलले जानकारी दिनुभयो।

डिएसपी खरेलका अनुसार फरार रहेका अभियुक्त ओलीले आफुले गरेको गल्ती कबुल गरेको र पटकपटक मदिरा सेवन गरि घरमा झैझगडा गर्दै आएको अनुसन्धानमा खुलेको छ । ओलीले श्रीमतीलाई ललाईफकाइ गरि घर देखि ५ सय मिटर टाढा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ओलीले साथमा आफ्नो पाँच वर्षीय छोरालाई लगेर फरार रहेका थिए ।।