
रुकुम पुर्वको सिस्ने गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माणको लागि छलफल गरिएको छ । आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शिक्षा क्षेत्र योजना निर्माणको लागि प्रारम्भिक रुपमा छलफल गरिएको हो ।
नेपाल सरकारले २०२२/२३ देखि २०३१/३२ सम्मको लागि १० वर्षे विद्यालय शिक्षा योजना तयार पारेको छ । उक्त शिक्षा योजनालाई स्थानिय स्तरसम्म पुर्याउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल सरकारले यो शिक्षा योजना तयार पारेपछी कार्यान्वयनको लागि विभिन्न दातृ निकायसँग समन्वय र सहकार्य गरेको छ ।
यसैअनुसार रुकुम पुर्व सहित लुम्बिनिका २७ पालिकामा युनिसेफ-यूरोपियन यूनियन र कालिका स्वावलम्वन सामाजिक केन्द्रको साझेदारी मार्फत शिक्षा योजना तयार हुन लागेको शिक्षा क्षेत्र योजना अधिकृत केशव कुमार विसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस कार्यक्रमबाट पहिलो चरणमा प्रत्यक्ष लाभान्वित हुने विद्यालय २ सय ८, विद्यार्थी ४२ हजार २ सय २४ र शिक्षक १ हजार ४० जना रहेका छन् । यस्तै अप्रत्यक्ष लाभान्वित विद्यालय ८ सय १०, विद्यार्थी २ लाख ८८ हजार २ सय १९ र शिक्षक संख्या ७ हजार २ सय ६७ रहेको छ ।
विशेष त तथ्याङ्कमा आधारित एवम् नतिजामुखी शिक्षा योजना तथा शैक्षिक प्रणाली सवलिकरणमार्फत बालबालिकाहरुमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्ने मुख्य उदेश्य यस कार्यक्रमको रहेको छ ।
शिक्षा क्षेत्र योजना निर्माणको लागि एउटा कार्यदल पनि गठन गरिएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको संयोजकत्वमा १३ सदस्यय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरुमा सामाजिक विकास समिति संयोजक तिर्था पुन, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सिस्ने ३ का वडाध्यक्ष हेराम खड्का, ७ का वडाध्यक्ष शशिधर बुढा, गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत रेवत बुढाथोकी, शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा, प्रशासन शाखा प्रमुख अरुण ओली रहनुभएको छ । यस्तै प्रधानाध्यापकहरु दुई जना कलु खड्का र मोहन पुन, शिक्षक महासंघबाट ऋषीकेष आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल गिरी, बालविकासबाट कमला मल्ल सदस्यमा रहनुभएको छ ।
यो कार्यदलले गाउँपालिकाको वस्तुनिष्ठ तथा तथ्याङ्किय अवस्थाको संकलन तथा विष्लेषण गर्ने, तथ्याङ्कका आधारमा समस्याहरु पहिचान गरी आवश्यकताको आंकलन गर्ने योजनाको मस्यौदा तयार गर्ने, सरोकारवालाहरुसँग छलफल तथा राय संकलन गरी योजनाको मूर्त तथा वष्तुनिष्ठ योजनाको स्वरुप तयार गर्ने लगाएतका काम गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभएको छ । यो शिक्षा योजनलाई दशैं तिहारसम्म अन्तिम रुप दिएर कार्यान्वयन गर्ने गरी काम गर्ने सिस्ने गाउँपालिका अध्यक्ष एवम् शिक्षा योजना निर्माण समितिका संयोजक कृष्ण रेग्मीले बताउनुभएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत मंगलसिंह बुढा, वडाध्यक्षहरु, शिक्षक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।