रुकुम पूर्वको सिस्ने गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माणको लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरिएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको सिस्नेको शिक्षा क्षेत्र योजनालाई अन्तिम रुप दिनको लागि आज गाउँपालिकामा सरोकारवालाहरुबाट सुझाव संकलन गरिएको हो ।

गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि सिस्नेले शिक्षा क्षेत्र योजना निर्माण गर्दै छ । कार्यदलले तयार पारेको ड्राफ्ट प्रस्तुत गर्दै यसमा आवश्यक थपघटको लागि आज सुझाव संकलन गरिएको हो । तयार पारिएको ड्राफ्ट सिस्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढाले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । यस शैक्षिक क्षेत्र योजनामा सिस्ने गाउँपालिकाको शैक्षिक अवस्था, शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र अवसरहरु, सिस्नेको शिक्षा क्षेत्रको दुरदृष्टि, लक्ष, उदेश्य र रणनीतिहरु समावेश गरिएको छ ।

यस्तै योजनाका कार्यक्रम तथा बजेट प्रक्षेपन, आधारभूत र माध्यामिक तहका लागि प्रस्तावित कार्यक्रमहरु, शिक्षक व्यवस्थापन र तालिम कार्यक्रममा लागि प्रस्तावित कार्यक्रमहरु, पाठ्यक्रम र मूल्याङ्कन कार्यक्रमको लागि प्रस्तावित कार्यक्रमहरु, विद्यालय भौतिक निर्माण र सुधार कार्यक्रमका लागि प्रस्तावित कार्यक्रमहरु, स्थानिय तहको शिक्षामा क्षमता अभिवृद्धि, अनुगमन, मूल्याङ्कन कार्यक्रमका लागि प्रस्तावित कार्यक्रमहरु समावेश भएको जानकारी गराइएको छ ।

शिक्षा क्षेत्र योजना निर्माणको लागि गठित कार्यदलले विभिन्न चरणमा छलफल गरी यो ड्राफ्ट तयार पारेको कालिका सामाजिक स्वावलम्बन केन्द्र कपिलवस्तुका प्राविधिक अधिकृत केशव विसीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार आजको सुझाव संकलन कार्यक्रमबाट महत्वपूर्ण कुराहरु आएका छन् । आवश्यकताअनुसार र प्राथमिकताअनुसार ती कुराहरुलाई थपघट गरेर शिक्षा क्षेत्र योजनालाई अन्तिम रुप दिने उहाँले बताउनुभएको छ । यसरी तयार भएको शिक्षा क्षेत्र योजना गाउँसभा तथा कार्यपालिकाबाट अनुमोदन पश्चात कार्यान्वयनमा लगिने छ ।

शिक्षा क्षेत्र योजना निर्माण कार्यदल समितिको संयोजक समेत रहनुभएका सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गाउँपालिकाले तयार पार्दै गरेको शिक्षा क्षेत्र योजनाले सिस्नेको शैक्षिक सुधारमा  टेवा पुग्ने बताउनुभएको छ । शिक्षा क्षेत्रको सुधार भएमा मात्र अन्य विकास हुने भन्दै अध्यक्ष रेग्मीले पालिका त्यसतर्फ केन्द्रित रहेको बताउनुभयो । पालिकाको बजेटले मात्र शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई नधान्ने भएकाले प्रदेश र संघ सरकारसँगै विभिन्न गैरसरकारी नियकायहरुसँग पनि समन्वय गर्ने उहाँले बताउनुभएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले शिक्षा क्षेत्र योजना बनाउने मात्र ठुलो कुरा नभएको बताउनुभएको छ । बनेका धेरै राम्रा योजनाहरु पनि कार्यान्वयन र प्रतिफलमा जादा असफल भएका उदाहरण दिदैँ उहाँले शिक्षा क्षेत्र योजना निर्माणपछि निरन्तर अनुगमन र मूल्याङ्कनलाई जोड दिनुपर्ने बताउनुभयो ।

सिस्ने गाउँपालिकामा यूनिसेफ-युरोपियन यूनियन र कालिका सामाजिक स्वाबलम्बन केन्द्र कपिलवस्तुको सहयोगमा शिक्षा क्षेत्र योजना निर्माण हुँदै छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको सुझाव संकलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, वडाध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, प्रधानाध्यापकहरु, यूनिसेफ र कालिका सामाजिक स्वावलम्बन केन्द्रका प्रतिनिधीहरु, बालक्लबका अध्यक्ष लगाएतको उपस्थती रहेको थियो ।

कार्यक्रमको सञ्चालन कालिका सामाजिक स्वावलम्बन केन्द्र कपिलवस्तुका प्राविधिक अधिकृत केशव विसीले गर्नुभएको थियो ।