रुकुम पूर्वको सिस्ने गाउँपालिकाले रोजगार उपभोक्ता समितिलाई  अभिमुखीकरण तथा सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको रोजगार शाखाले आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरणका साथै रोजगार उपभोक्ता समितिलाई सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा प्राथमिक उपचार सम्बन्धी जानकारी गराइएको छ । कार्यस्थलमा श्रमिकले काम गर्दै गर्दा चोटपटक लागेको खण्डमा प्राथमिक उपचार कसरी गर्ने भन्ने कुराहरु रुकुम पूर्व अस्पतालका डाक्टर रोचक गौतमले अभिमुखीकरण कार्यक्रममा जानकारी गराउनुभएको सिस्ने गाउँपालिका रोजगार संयोजक झपेन्द्र केसीले जानकारी दिनुभएको छ । यसैगरी रोजगार उपभोक्ता समिति तथा श्रमिकहरुलाई आयोजना र भुक्तानी प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।

यस्तै समितिहरुलाई सुरक्षा सामाग्री अन्तर्गत हेल्मेट, ज्याकेट, बुट, चस्मा, पञ्जा, प्राथमिक उपचार बक्स र औजारहरु घन बेल्चा ठेलागाडा गैठी लगाएतका औजारहरु वितरण गरिएको रोजगार संयोजक केसीले जानकारी दिनुभएको छ । यी सुरक्षा सामाग्री औजारहरु सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले हस्तान्त्रण गर्नुभएको हो ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको उपस्थीती रहेको थियो । अभिमुखीकरण कार्यक्रममा प्रत्येक वडामा गठन गरिएका उपभोक्ता समितिबाट ३/३ जनाको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सञ्चालन रोजगार सहायक सन्देश गौतमले गर्नुभएको थियो ।