
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले प्रहरी नायव उपरिक्षक माधवराज खरेलमाथी कारबाही गर्न माग गरेको छ । अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष विजयप्रकास सापकोटाले एक विज्ञप्ती जारी गर्दै प्रहरी नायव उपरिक्षक खरेलमाथी छानविन गरी कारबाही गर्न माग गर्नुभएको हो ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचको विषयमा रुकुम (पुर्व)को सिस्ने शिक्षा क्याम्पसमा छलफलको लागी बोलाईएको बैठकमा प्रहरी नायव उपरिक्षक खरेल पदिय मर्यादा विपरित अमुख पार्टीको सिपाहीको शैलीमा प्रस्तुत भएको भन्दै उहाँमाथी विद्यार्थी संगठनले विज्ञप्ती मार्फत कारबाही तथा छानबिनको माग गरेको हो ।
रुकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा स्ववियू निर्वाचनका लागि अनेरास्ववियूबाट उम्मेद्वार बनाइएका २ जना उम्मेदवारले मनोनयन फिर्ता लिने क्रममा डिएसपी खरेलले निर्वाचन समिति र उम्मेदवारी फिर्ता लिन लागेका विद्यार्थीलाई हपकधपक पार्न खोज्नुभएको थियो ।
यस घटनाबारे छानविन समिति गठन गरी कडाभन्दा कडा कार्वाहीका लागि माग गरिएको छ । माग संबोधन नभए चुप लागेर नबस्ने चेतावनी विद्यार्थी संगठनले दिएको छ ।
विज्ञप्तीमा भनिएको छ, “हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) लामो त्याग, तपस्या,समर्पण र बलिदानको गौरवपूर्ण इतिहास बोकेको, शैक्षिक क्षेत्रमा रहेका बिकृती बिसङ्गतीका विरुद्धका आन्दोलनको मात्र नभई सामाजिक,आर्थिक,राजनीतिक आन्दोलनको पनि अगुवाइ गर्ने र अग्रमोर्चामा उभिने सङ्गठन हो । साथै शिक्षामा व्याप्त निजीकरण, माफियाकरण, व्यापारिकरण का विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेको कुरा यहाँहरुलाई सर्वविदितै छ ।
यसै सन्दर्भमा आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तयारीको क्रममा क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम (पूर्वी भाग) जिल्ला प्रहरी प्रमुख (डिएसपी) माधवराज खरेलले स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिसङ्गको छलफलमा प्रवेश गरी स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण वतावरणमा सम्पन्न बनाउन भुमिका खेल्नुको साटो आफ्नो पदिय मर्यादा भुलेर अमुख राजनितिक पार्टीको सिपाहीका रुपमा प्रस्तुत हुने विषयले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
जिल्लामा शान्ती, सुरक्षा अमनचयन कायम गर्नुको सट्टा जिल्ला प्रहरी प्रमुखको कुर्सीमा बसेर सत्ताको बुट बजार्ने प्रवृत्तीले हाम्रो बलिदानको सगरमाथा बोकेको रक्तरञ्जित कलम तारा अंकित झण्डा उठाएको संगठनलाई सह्य नहुने कुरा सचेत गराउँदछौं । उक्त घटनाबारे छानविन समिति गठन गरी कडाभन्दा कडा कार्वाहीका लागि सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं अन्यथा हाम्रो सङ्गठन चुप लागेर नबस्ने चेतावनी पनि यसै प्रेस विज्ञप्ति मार्फत दिन चाहान्छौँ ।”