
रुकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ ।
मंगलबार भएको निर्वाचन मार्फत क्रान्तिकारीका अमर खत्रीको नेतृत्वको प्यानल नै विजयी भएको हो । जम्मा ३ सय ५४ मतदाता रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनमा जम्मा २०० मत खसेको थियो ।
खसेको जम्म मतमध्य अखिल (क्रान्तिकारी)का अमर खत्रीले १३५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । खत्रीले उक्त मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिस आचार्यले ३४ मत ल्याउनुभएको छ भने नेपाल विद्यार्थी संघका अर्जुन बुढाले २५ मत ल्याउनुभएको छ ।
यस्तै सचिवमा अखिल (क्रान्तिकारी)का विशाल घर्ति मगर १४२ मतका साथ बिजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा क्रान्तिकारीकै अनुपा शिर्पालीले १३५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा क्रान्तिकारीकै गंगा सार्की, उषा छिनाल, सुधा ओली, उषा थापा र सुनिता रोका विजयी हुनुभएको छ ।