रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । बैठकमा विपद, विपद प्रतिकार्य समिति, टोली, यसको काम, कर्तव्य, अधिकार लगाएतको विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डाक्टर गौरव डंगोलले विपद, विपदमा गर्नुपर्ने कार्य, विपदको जोखिम, विश्वमा घटेका विपद तथा महामारीहरु, महामारीका संकेतहरु, यसमा ख्याल गर्नुपर्ने कुराहरु, द्रुत प्रतिकार्य केको लागि ?, कानुनमा व्यवस्था गरिएको संक्रामक रोगको रोकथाम तथा उपचार, संघिय द्रुत प्रतिकार्य समिति र टोली, संघिय द्रुत प्रतिकार्य समिति र टोलीको काम, कर्तव्य र अधिकार तथा प्रदेशको द्रुत प्रतिकार्य टोलीको काम, कर्तव्य र अधिकार, जोखिमको नक्साकंन, समन्वयको संचार तथा फ्लो चार्टको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै स्वास्थ्य कार्यालय रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत यादव प्रसाद शर्माले जिल्ला द्रुत प्रतिकार्य समिति, जिल्ला द्रुत प्रतिकार्य समितिको काम, कर्तव्य र अधिकार, स्थानीय द्रुत प्रतिकार्य समिति र टोली, यसको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गाराउनुभएको थियो । यस्तै द्रुत प्रतिकार्य समितिको आवश्यकता, वडा द्रुत प्रतिकार्य टोली सम्बन्धी व्यवस्था, परिचालन सम्बन्धी व्यवस्था लगाएतको बारेमा जानकारी गराइएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना, विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय रुकुम पूर्व तथा सिस्ने गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको पैरवी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, सिस्ने गाउँपालिका ३ का वडाध्यक्ष हेराम खड्का, ५ का वडाध्यक्ष बिरेन्द्र बस्नेत, ६ का वडाध्यक्ष पूर्ण बहादुर मल्ल, रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रराज कोइराला, प्रहरी निरिक्षक मोहन कुमार खड्का, स्वास्थ्य कार्यालयका प्रमुख पुष्कल श्रेष्ठ, रुकुम पूर्व अस्पतालका मेडिकल अधिकृत पूर्ण पुन, विश्व स्वास्थ्य संगठनका शंकर अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत यादव प्रशाद शर्माले गर्नुभएको थियो ।