रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ ले बाख्रा वितरण गरेको छ । वडाले बुधबार वडा भित्रका ग र घ वर्गको अपांगता परिचय पत्र प्राप्त गरेका ६ जनालाई बाख्रा वितरण गरेको हो । वडा भित्र ग र घ वर्गको अपागंता परिचय पत्र पाएका व्यक्ति १२ जना भएपनि अहिले ६ जनालाई उन्न्त जातको एकएक वटा बाख्रा वितरण गरिएको वडाध्यक्ष शान्तेबहादुर विकले जानकारी दिनुभयो ।

६ जनालाई भने अर्को चरणमा बाख्रा वितरण गरिने वडाध्यक्ष विकले बताउनुभयो । उनिहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को लक्षित वर्गको १ लाख ५० हजार बजेटले बाख्रा खरिद गरि वितरण गरिएको हो । क र ख वर्गको अपांग परिचय पत्र प्राप्त गरेका नागरिकले भत्ता पाउछन् । ग र घ वर्गका अपाङ्गहरुलाई जिविकोपार्जनमा सहयोग पुगोस भनेर हरेक वर्ष लक्षित वर्गको बजेटबाट बाख्रा वितरण गर्दै आएको अध्यक्ष बिकले बताउनुभयो ।

वडा कार्यालयले हरेक वर्ष बाख्रा वितरण गर्दा आफुहरुलाई राहत भएको भन्दै उनिहरुले खुसी व्यक्त गरेका थिए । बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष विकसहित नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश कार्की, प्राबिधिक रेशम परियारको उपस्थिती रहेको थियो ।