रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन गरेको स्याउको बिरुवा खरिद गरिदिएपछि किसान दंग परेका छन् । वडा नम्बर १० घुम्लिबाङका किसानले उत्पादन गरेका स्याउको बिरुवा गाउँपालिकाले खरिद गरिदिएपछि उनिहरु खुसी भएका हुन् । विगतका वर्षदेखि गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएका बिरुवालाई प्राथमिकता नदिइ बाहिरबाट बिरुवा ल्याएर वितरण गर्छ भन्ने खालको आरोप खेप्दै आएको थियो ।

अहिलेको वर्षमा गाउँपालिकाले घुम्लिबाङमा उत्पादन भएको बिरुवा खरिद गरी वितरण गरेको छ । नर्सरीमा हुर्किएका बिरुवा खेर जान्छन्की भनेर पिर गरिरहेका किसानहरु गाउँपालिकाले बिरुवा खरिद गरेपछि खुसी भएको नरसिङ बहुउदेश्यीय कृषि फर्मका नरे घर्तीले बताउनुभयो । उहाँले अहिले आफ्नो फर्ममा हुर्किएका एक हजार ६ सय ५० वटा स्याउको बिरुवा गाउँपालिकाले खरिद गरेको बताउनुभयो । आगामी वर्षको लागि भनेर ३ हजार ७ सय बिरुवा जमाएको पनि घर्तीले बताउनुभयो ।

यस्तै घुम्लिबाङै भृकुटी हिमालय बहुउदेशयीय कृषि फर्मले उत्पादन गरेका ७ सय ५० स्याउको बोट गाउाँपालिकाले खरिद गरेको छ । उसले पनि आगामी वर्षको लागि ३ हजार ७ सय बिरुवा जमाएको फर्मका सञ्चालन चन्द्र घर्तीले बताउनुभयो । ढोथो बहुउदेश्यीय कृषि फर्मको पनि २ हजार ७ सय २५ बोट र बहुउदेश्यीय फलफुल नर्सरी तथा उत्पादन फर्मबाट ७ सय ५० वटा स्याउको बोट गाउँपालिकाले खरिद गरेको छ ।

घुम्लिबाङका किसानले उत्पादन गरेको ४ हजार ७ सय ३३ बोट गाउँपालिकाले खरिद गरेको छ भने स्थानीय किसानले पनि बिरुवा खरिद गरी लगाएका छन् । सिँचाइको सुविधा नभएको त्यहाँका किसानले आफैले पानी बोकेर सिचाई गरी स्याउको बिरुवा उत्पादन तथा हुर्काउदै आएका छन् । दुख गरेर हुर्काएको स्याउको बिरुवा खपत भएपछि उनिहरु दंग परेका हुन् ।

पुथाउत्तरगंगा गाउँपालिका कृषि शाखाका प्रमुख ओमप्रकाश ओलीले सरकारी दररेटमा स्थानीय किसानले बिरुवा नदिदा र फर्म दर्ता नगरी बिरुवा उत्पादन गर्दा विगतका वर्षहरुमा बाहिरबाट बिरुवा ल्याएको बताउनुभयो । यसपाली भने किसानलाई फर्म दर्ता गराउन सघाएर उनिहरुबाटै बिरुवा खरिद गरेको कृषि शाखा प्रमुख ओलीले बताउनुभयको छ । पालिकामा सबै नर्सरीलाई फर्म दर्ता गर्न लगाउनुका साथै बिरुवा धेरै उत्पादन गर्ने ८ वटा फर्महरुलाइ छनोट गरि ५०÷५० हजार रुपैयाँ पनि सहयोग गरेको उहाँले बताउनुभयो ।