रुकुम(पुर्व) को सदरमुकाम रुकुमकोटमा बिउ उत्पादन सम्बन्धि तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा रहेको चाइनीज होटेलमा आजबाट खाद्यान्न, दलहन, तेलहन सम्बन्धि तीन दिने तालिम सुरु भएको हो । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) को आयोजनामा सञ्चालन हुने तालिमको जिल्ला समन्य समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठले ब्यानर खोलेर तथा पढेर उद्धघाटन गर्नुभएको हो ।

तीन दिनसम्म चल्ने तालिममा खाद्यान्न, दलहन तेलहनभित्र पर्ने विभिन्न बालीहरुको बिउ उत्पादन कसरी गर्ने भन्ने कुराहरु सिकाइने छ । उत्पादन प्रविधि, रोग तथा किरा व्यवस्थापन, खेतबारी निरिक्षण, बजारीकरण र व्यवस्थापन, कृषि बिमा, बचत व्यवस्थापन, उत्पादन पछिको क्ष्ँती न्यूनिकरण लगाएतका कुराहरु सिकाइने एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्लामा अहिले प्राङ्गारिक मल उद्योग निर्माण भइरहेको बताउदै कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आगामी आर्थिक वर्षमा जैविक मल उत्पादन केन्द्र निर्माण गर्ने योजना रहेको बताउनुभयो । त्यसैअनुसार काम भइरहेको र तालिम पनि प्रदान हुन लागेको उहाँले बताउनुभयो । तिन दिनसम्म तालिमको कार्यालयका प्रमुख पिताम्बर बस्नेत, कृषि अधिकृत बस्नेत, खिमबहादुर रोकाय, सम्जी घर्ती, अजोड इन्स्युरेन्सका प्रबन्धक शरदमंगल ओलीले सहजिकरण गर्नुहुने छ । यो तालिम यहि जेठ २८ गतेसम्म चल्ने छ ।

तालिम उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले रुकुम(पूर्व) मा किसानले ठुलो मात्रामा कृषि उपज उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै तिन दिनसम्म चल्ने बिउ उत्पादन तालिमबाट धेरै कुराहरु सिकेर सिपको सहि सदुपयोग गर्न पनि समन्वय प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । अर्गानिक जिल्लाको पहिचानलाई कायम राख्दै कृषिका गतिविधि अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । रैथाने बाली हराउदै गएको कारण यसतर्फ पनि स्थानीय सरकार र सम्बन्धित कार्यालयहरुले ध्यान दिनुपर्ने भनाई उहाँको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले गाउँपालिकाले प्राथमिकतामा राखेको क्षेत्रमा शिक्षापछिको दोस्र्रो क्षेत्र कृषि रहेको बताउनुभयो । उहाँले अहिले सबै निर्वाहमुखी कृषिमा अल्झिदै आएको बताउदै आगामी दिनमा यसलाई व्यवसायीकरण, यान्त्रिकरण गर्ने, परम्परागत प्रणालीलाई छोडेर आधुनिकिकरण गर्दै उत्पादनलाई बढवा दिने कुरामा तीनै तहको सरकारले जोड गरेको बताउनुभयो । गाउँपालिकाले पनि कृषिलाई नैै प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम ल्याउने अध्यक्ष रेग्मिले बताउनुभयो ।
कृषिलाई सहकारीकरण गर्ने योजना रहेको पनि उहाँले बताउनुभएको छ ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्को प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जलस्रोत तथा सिचाई विकास सव डिभिजन कार्यालयका प्रमुख योगेन्द्र महत्तो, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्का, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, जिल्ला सहकारी संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठलगाएत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

जिल्लाको विभिन्न गाउँपालिकामा खटिएका कृषि प्राविधिक, व्यवसायीक किसानहरुको उपस्थिती रहेको थियो । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका अधिकृत छैठौ खिमबहादुर रोकायको स्वागत मन्तव्यर रहेको कार्यक्रमको सञ्चालन कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।