रुकुम(पूर्व) मा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले सञ्चालन गरिएका विभिन्न योजनाहरुको संयुक्त अनुगमण गरिएको छ । कार्यालयले सिस्ने गाउँपालिकाको ७ र ८ नम्बर वडामा सञ्चालन गरेका योजनाहरुको ससंयुक्त अनुगमण गरिएको हो ।
शनिबार सिस्ने ७ नम्बर वडाको पाखागाउँ र गोठिचौर तथा ८ नम्बर वडाको लम्पाकोट पेटरीबाङमा स्याउ बगैँचा, सिंचाई कार्यक्रम, ओखर खेती, मौरीपालन, स्मार्ट कृषि गाउँ कार्यक्रमलगाएतको अनुगमण गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) का प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । अनुगमणको क्रममा ८ नम्बर वडाको पेटरीबाङमा किसान यन्द्र्बहादुर खत्रीले आफ्नै लगानीमा निर्माण गर्नुभएको ओखर बगैंचा राम्रो भएको पाइएको छ । उहाँले एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको दुई लाख ५० हजार र आफ्नो ८० हजारको लगानीमा सिंचाई योजना निर्माण गर्नुभएको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।
यस ठाउँका किसानले अनुगमण टोलीसँग स्याउलाई असिनाबाट बचाउन नेट जालीको व्यवस्था गरिदिन, घेराबार, रोग उपचारको लागि दक्ष प्राविधिक, मिनिटीलर र आवश्यक तालिमको माग गरेका छन् । कार्यालय प्रमुख बस्नेतले आवश्यकताको आधारमा कार्यालयबाट हुन सक्ने सहयोग पूर्ण रुपले गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
७ नम्बर वडाको पाखागाउँ र गोठिचौरमा मौरी पालन कार्यक्रमको अनुगमण गरिएको छ । यस वडामा शंकर मौरीपालन फर्म र कमानसिंह मौरीपालन फर्मको अनुगमण गरिएको छ । शंकर फर्ममा कोभिड विशेष कार्यक्रममार्फत कार्यालयले ५० हजार दिएको थियो भने ५० प्रतिशत लगानी फर्मको थियो । यस्तै कमानसिंह फर्मले मौरी विकास कार्यक्रममार्फत एक लाख अनुदान प्राप्त गरेको थियो भने आफ्नो ९२ हजार लगानी थियो । अनुगमणको क्रममा अनुदानबाट मौरीपालनमा राम्रो काम भएको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो ।
सुन्तला अलैँची कृषि स्मार्ट गाउँअन्तर्गत सुन्तला भण्डाराणको लागि सोलार स्टोर निर्माण, गड्यौला मल उत्पादनको लागि भर्नी कम्पोष्ट किट निर्माणको पनि अनुगमण गरिएको छ । अनुगमणका कार्यालयका प्रमुख बस्नेतसँगै सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, ७ नम्बर वडाध्यक्ष शशिधर बुढालगाएत सम्बन्धित व्यक्ति, कृषि स्मार्ट कृषि गाउँका संयोजक कर्णबहादुर खत्री, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।