रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा स्मार्ट कृषि कोल गाउँको अनुगमण गरिएको छ । गाउँपालिकाको १२ नम्बर वडामा सञ्चालन गरिएको कृषि स्मार्ट कोल गाउँको संयुक्त अनुगमण गरिएको हो । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीकोे प्रमुख उपस्थितीमा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयद्धारा सञ्चालीत स्मार्ट कृषि कोल गाउँको अनुगमण गरिएको हो ।

योजनाको आइतबार संयुक्त अनुगमण गरिएको छ । कोलमा कार्यालयको ३० लाख अनुदानमा कार्यक्रम सञ्चालन गरिएको थियो । यसमा कार्यालयको ६० प्रतिशत अनुदान रहेको छ भने किसानले ४० प्रतिशत लगानी गर्नुपर्ने थियो । कोलमा चालु आर्थिक वर्षको अन्तिममा आएर योजना सम्झौता गरेको थियो । अनुगमणको क्रममा योजनाको काम पूर्ण रुपमा सम्पन्न भइनसकेको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । अनुगमण टोलीले २२ गतेभित्र योजनाको कामलाई पूर्णता दिइसक्न निर्देशन गरेको पनि उहाँले बताउनुभयो ।

यस्तै तकमा प्राङ्गारिक मलमा अनुदान कार्यक्रमको पनि अनुगमण गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम(पूर्व) रोल्पा कार्यालयद्धारा सञ्चालीत उक्त योजनाको पनि संयुक्त अनुगमण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कार्यालयले मलमा ८५ प्रतिशत अनुदान दिएको थियो । अनुदानको मल प्रयोगबाट आलु खेती भने राम्रो भएको पाइएको छ । तकमा किसानले आलु राम्रो फलेको भन्दै अनुगमण टोलीलाई आलुको माला लगाएर स्वागत तथा सम्मान गरेको थियो ।

सभामुख घर्तीसँगै सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालयका प्रमुख मित्रलाल पौडेललगाएत जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगाएतको अनुगमण कार्यक्रममा उपस्थिती रहेको थियो ।