रुकुम (पूर्व) को सिस्ने गाउँपालिका २ मा पुल निर्माणको काम सुरु भएको छ । २ नम्बर वडाको तुवाङ खोलाको ख्याप भन्ने ठाउँमा पुल निर्माणको काम सुरु गरिएको हो । ख्यापमा दुई साता अघिबाट पुल निर्माणको काम सुरु गरिएको छ । उपभोक्ता समितिमार्फत पुल निर्माणको काम भइरहेको २ नम्बर वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।
वडाध्यक्ष केसीका अनुसार सिस्ने २ मा गाउँपालिकाको आर्थिक तथा सेवक नेपालको प्राविधिक सहयोगमा पुल निर्माणको काम हुने छ । ख्यापमा पुल निर्माणको लागि साढे ५७ लाखको डिपिआर तयार भएको छ । त्यहाँ १ सय १० मिटर लामो पुल निर्माण हुने वडाध्यक्ष केसीले बताउनुभयो । चालु आर्थिक वर्ष भित्रै काम सम्पन्न गर्नेगरी उपभोक्ता समितिसँग सम्झौता भएको छ ।
अहिले तुवाङ खोलाको ख्यापुमा साँघु रहेको छ । मानिसहरुले जोखिम मोलेर त्याहाँ साँघुबाट वारपार गर्दै आएका छन् । साघुँबाट वारपार गर्दा अहिले समस्या भइरहेको त्यहाँका स्थानीयले बताएका छन् । यो पुल विशेष गरी गुप्ता दह जानेहरुलाई तार्गेट गरी निर्माण गर्न लागिएको वडाध्यक्ष केसीले बताउनुभयो । यस्तै वर्खाको समयमा वस्तुभाउ लिएर लेकतीर जानेहरुको लागि पनि यो पुल लक्षित रहेको बताइएको छ । पछिल्लो समय पर्यटकीय स्थल गुप्ता दह जानेहरुको संख्या बढ्दै गएको छ । सबै मानिसहरु साँघु तरेरै जोखिम मोल्दै गुप्ता पुग्ने गरेका छन् ।
यो समस्यालाई मध्यनजर गर्दै ख्यापमा पुल निर्माणको कार्य सुरु गरेको वडाले जनाएको छ । वडा कार्यालयले साँघु तथा काठे पुललाई विस्थापित गर्ने योजना बनाएको छ । त्यसैअनुसार अहिले काठे पुललाई विस्थापित गर्दै झोलुङ्गे पुल र ट्रस पुल निर्माणको कामलाई जोड दिइरहेको वडाध्यक्ष केसीले बताउनुभएको छ ।