रुकुम (पूर्व) मा कमल दह प्राकृतीक सम्पदा तथा संरक्षण केन्द्र सिस्ने गाउँपालिका ५ बाहुनठानाले दहबाट कमलको जरा निकाल्न प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । सिस्ने गाउँपालिकाले यस वर्ष कमलको जरा निकाल्न भन्दै टेन्डर आह्वान गरेको छ । एकातीर गाउँपालिकाले टेन्डर आह्वान गरिसकेको छ भने कमल दह प्राकृतीक सम्पदा तथा संरक्षण केन्द्रले कमलको जरा निकाल्न प्रतिबन्ध लगाउन भन्दै चिठी लेखेको छ ।

उसले सिस्ने गाउँपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र ५ नम्बर वडा कार्यालयलाई कमलको जरा निकाल्ने कार्यमा प्रतिबन्ध लगाई कमलदह संरक्षणमा सहयोग गरिदिन अनुरोध गर्दै चिठि काटेको हो । कमलदह प्राकृतीक सम्पदा तथा वातावरण संरक्षण केन्द्रका कार्यबाहक अध्यक्ष शमीर शाहीद्धारा हस्ताक्षरीत चिठीमा लेखिएको छ, “सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कमल दहमा सिस्ने गाउँपालिकाले ४ वर्षयता ठेक्का प्रणालीमा रुपान्तरण गरी निरन्तर रुपमा कमलका जरा निकालीरहेको छ । त्यसमा ठेकेदारको चरम लापरबाहीले कमलको फूल, पात, जरा क्रमिक रुपमा लोप हुदै गएको छ ।”

“यस वर्ष पनि सिस्ने गाउँपालिकाले कमलको जरा निकाल्न भन्दै टेन्डर आह्वान गरेको छ । यसले कमल दहमा पार्ने प्रभाव तथा दिगो संरक्षण, अस्तित्वको लागि यस वर्ष पूर्ण रुपमा कमलको जरा निकाल्ने कार्यमा प्रतिबन्ध लगाई कमल दह संरक्षण तथा संबर्धनको लागि हार्दिक अनुरोध गर्दछौ ।”