रुकुम (पूर्व) मा हिमपातको कारण अबरुद्ध सहिदमार्ग सुचारु भएको छ । जिल्लाको पुथाउत्तरगंगा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सहिदमार्गको रिका खण्ड बिहिबारबाट सुचारु भएको हो । हिमपातका कारण गएको साताबाट अबरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का डिएसपी गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सडकमा बाक्लो हिउँ जमेपछि अबरुद्ध भएको सडक हिउँ बिलाउदै गएपछि पुनः सुचारु भएको हो । सडकमा जमेको हिउँ पूर्ण रुपमा नबिलाए पनि जोखिमै मोलेर उक्त खण्डमा गाडि चल्न थालेका छन् । रिका खण्डमा सुरुमा ट्याक्टर हालिएको र ट्याक्टरको लिगमा गाडि चलिरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । रिका खण्डमा हिउँ जम्दा पुथाउत्तरगंगा गाउँपालिकाबाट भूमे र सिस्नेमा आउन तथा जान समस्या भइरहेको थियो ।

सहिदमार्गको रिका खण्ड सञ्चालनमा आएसँगै मानिसहरुलाई आवतजावत तथा सामान ओसारपसार गर्न सहज भएको छ । वर्षेणी हिमपातको कारण सहिदमार्गको रिका खण्डमा सडक अबरुद्ध हुने गर्छ । हिमपातकै कारण अबरुद्ध भएको मध्यपहाडि लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन् ।