रुकुम(पूर्व) को भूमे गाउँपालिका ५ मा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको छ । भूमे ५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिप्पर पल्टिदा काम गर्दै गरेका ३ जना मजदुर र एक जना सव इन्जिनीयर घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभएको छ । घिमिरेको अवस्था नाजुक रहेको उहाँले बताउनुभयो । पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढाको अवस्था पनि गम्भिर रहेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो ।

अर्का उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी पनि घाइते भएको प्रहरीले बताएको छ । सबै जनाको अहिले रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । उहाँकाअनुसार लामा कन्स्ट्रक्सनले धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको छ । कन्स्ट्रक्सनकै टिप्परले झिङ्गेटारमा लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ पल्टदा काम गरिरहेकाहरुलाई किचेको हो ।

कन्स्ट्रक्सनका सव इन्जिनीयरलाई भने टिप्परबाट उछिट्टीएर गएको ढुङ्गाले चोट लागेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । टिप्पर ढुङ्गा झार्ने क्रममा पल्टिएर अन्दाजी १०÷१५ मिटर तल खसेको थियो । टिप्पर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।