रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा लुम्बीनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाँकेको सहयोग र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल रोल्पाको सहजिकरणमा कार्यक्रम सम्पन्न गरिएको हो ।

गत आर्थिक वर्ष २०७७÷०७८ मा भए गरेका क्रियाकलापहरुको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण गरिएको छ । गाउँपालिकाले लैगिकमैत्री बजेट तथा कार्यक्रम संचालन गरे नगरेको र हालसम्म बनेका ऐन, निति, नियमावली, कार्यविधि तथा कार्यक्रमहरुले महिला, दलित, जनजाती, अपाङ्ग, अल्पसंख्यकका साथै सबै लक्षित वर्गको लागि अनुकुल हुनेगरी बनेका छन कि छैनन् र सोको कार्यान्वयन भएका छन कि छैनन् जस्ता कुराहरुलाई विश्लेषण गरिएको रुडास नेपालका कार्यकारी प्रमुख एवम् जेसी अडिटका सहजकर्ता शोभाराम डाँगीले बताउनुभयो ।

उहाँकाअनुसार गाउँपालिकामा सबै लक्षित वर्गको सम्मानजनक सहभागिता र निर्णायक तहमा उनिहरुको सक्रिय सहभागिता भए नभएको हेरिएको थियो । गाउँपालिकाले लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मैत्रि निति तथा कार्यक्रम बनाई कार्यान्वयन गरे नगरेको लेखाजोखा गरिएको थियो । परीक्षणमा ५ मुल विषयहरु, २२ उपसुचकहरु र १०० सुचकहरु रहेका थिए । यिनै सुचकहरुलाई आधार मानी गाउँपालिकाको लैगिक परिक्षण गरिएको थियो । यसमा गाउँपालिकालाई ६४ अंक दिइएको छ ।

परिक्षणकै क्रममा सवल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण गरिएको थियो । कमजोर रहेका सुचकहरुमा कार्ययोजना तयार गरी आगामी योजनामा समाबेश गर्न कान्र्यान्वयन समिति मार्फत गाउँकार्यपालिका र गाउँसभामा पेश गरिनेछ । २ दिनसम्म चलेको कार्यक्रमबाट अध्यक्षको संयोजकत्वमा ९ सदस्यिय कार्यान्वयन समिति र उपाध्यक्षको संयोजकत्वमा ५ सदस्यिय कार्यदल गठन गरिएको छ । परिक्षण कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।