
चन्द्र रसाइली
रुकुम (पूर्व)को भूमे गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) सुरु भएको छ । भूमे गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाँकेको सहयोगमा रुडास नेपालले जेसी अडिट गरिरहेको छ ।
स्थानीय तहमा स्थानीय सरकारको संस्थागत संरचना र सम्पूर्ण विकास योजना तथा कार्यक्रमहरुमा लैंगिक समानता के कस्तो छ भनेर बुझ्न र यसको अवस्थाबारे जानकारी लिनको लगि कार्यक्रमको आयोजना गरिएको ग्रामीण विकास तथा चेतना समाज नेपाल(रुडास) रोल्पाका कार्यकारी प्रमुख तथा जेसी अडिट सहजकर्ता शोभाराम डाँगीले बताउनुभयो ।
यस्तै गाउँपालकामा जेसी अडिट कार्यदल र कार्यान्वयन समिति पनि निर्माण गरिने छ । जेसी अडिटले गाउँपालिकामा लैगिंक हिंसा बिरुद्धको अभियानका बजेट छ की छैन्, अपागं, अल्पसंख्यकको लागी बजेटको व्यवस्था तथा नीति निर्माण गरिएको छ की छैन भनेर हेर्न तथा नगरेको भए बजेट व्यवस्थापन देखि नीति निर्मणमा सघाउ पुर्याउने छ ।
यस्तै बजेटको व्यवस्था र नीति निर्माण गरेर पनि कार्यान्वन नभएको खण्डमा कार्यान्वयन गर्नमा सहयोग पुर्याउनेछ । यसले गाउँपालिकालाई थप लैंगिकमैत्री बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि सुचकमाथि सामुहिक रुपमा छलफल गरि लैंगिक बजेट र गाउँपालिकामा लैंगिकता सम्बन्धि भए गरेका कामको आधारमा गाउँपालिकालाई अंक पनि दिईने डाँगीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मन कुमारी बुढा विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव, सम्पूर्ण कार्यपालिका सदस्यहरु, रुडास नेपाल रोल्पाका अध्यक्ष भिमबहादुर घर्ती, गाउँपालिकाका शाखा प्रमुखहरुको उस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन गाउँपालिकाका कर्मचारी चेतन बुढामगरले गर्नुभएको छ ।