रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले ७० वर्ष माथीका ७१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा भित्र एक सय ४६ जना ज्येष्ठ नागरिक भएपनि यो चरणमा वडा कार्यालयमा उपस्थित भएका ७१ जनालाई सम्मान गरिएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो ।

प्रत्येक ज्येष्ठ नागरिकलाई एकएक वटा छाता र लाइटसँगै खादा तथा दोसल्ला ओडाएर सम्मान गरिएको वडाध्यक्ष पुनले बताउनुभयो । चुनबाङकी ९६ वर्षका गुमती टमाटा र ८८ वर्षका रकबिर खड्काले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा आफुहरु निकै खुसी भएको बताउनुभयो । आज वडामा उपस्थित हुन नसकेका ज्येष्ठ नागरिकलाई घरमै गएर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष पुनको अध्यक्षतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दयालसिहं पुनको प्रमुख र इलाका प्रहरी कार्यालय चुनबाङका असही दिपराज रोकायको विशेष आतीथ्यता रहेको थियो । वडा सदस्य नमिता पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सदस्य दिपक पुनले गर्नुभएको थियो ।