रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ४ मा विभिन्न सिपमुलक तालिम सुरु भएका छन । ४ नम्बर वडाका दुई स्थानमा सिलाई कटाई र एक स्थानमा ढाका बुनाई सम्बन्धि तालिम सुरु गरिएको छ ।

लघु उद्यम विकास शाखा सिस्ने गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएका तालिमको गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोर्वधन बुढा र प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले उद्धघाटन गर्नुभएको छ । वडाको ढाकामा २० र दादिङमा १४ गरि ३४ जना महिला पुरुषको लागि सिलाईकटाई र दादिङका ४ महिलाका लागि ढाका बुनाई तालिमको आयोजना गरिएको छ ।

भूगोल र जनसंख्यालाई आधार मानि सहज रुपमा सिप सिकाउन दुई स्थानमा तालिमको आयोजना गरिएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता मदन विसीले बताउनुभएको छ । “आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत स्वरोजगार” भन्ने मुल नारा सहित सुरु भएका यि तालिम ६५ दिनसम्म चल्ने छन । तालिममा १८ देखि ३० वर्ष उमेर समुहका अधिकांश महिला र केहि पुरुषको सहभागिता रहेको छ ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बरालले पछिल्लो युवा पुस्तालाई विभिन्न सिप मुलक तालिम दिई सिप युक्त जनशक्ति तयार पार्ने उदेश्यले गाउँपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो । गाउँपालिकाका हरेक नागरिकलाई व्यवसायिक बनाउने बताउदै अध्यक्ष बरालले सिस्नेली जनतालाई कसरि समृद्ध बनाउन सकिन्छ भनेर लागिपरेको बताउनुभयो । जनतालाई आत्मनिर्भर बनाई आर्थिक विकासको बाटोमा अगाडी बढाउन सिस्ने सरकार तत्पर रहेको पनि उहाँले बताउनुभयो ।

सिस्ने सरकारले आधारभूत भौतिक विकासको काम सेकेको र अव सवै उत्पादनमा लाग्नुपर्ने भनाई उहाँको थियो । उत्पादनले स्थानिय आवश्यकता पुरा गर्ने मात्र नभई आर्थिक समृद्धिको आधार तय गर्ने भएकाले सवै उत्पादनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

यस्तै उपाध्यक्ष गोबर्धन बुढाले महिला माथि हुने सवै खाले हिंसा अन्त्य गर्न महिलाहरु उद्यम व्यवसाय र उत्पादनका कार्यमा जोडिनु पर्ने बताउनुभयो । सिप सिकेका कोहि पनि व्यक्ति बेरोजगार बस्नु नपर्ने भन्दै बुढाले सक्रिय भएर सिप दिन र लिन तालिमका प्रशिक्षक र सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।

सिस्ने गाउँपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत विभिन्न सिप मुलक तालिम सञ्चालन गर्दै आएको छ । करिव एक महिना अघि ड्राइभिङ, व्युटिपार्लर र कम्प्युटर तालिम सुरु गरेको सिस्नेले शुक्रबारबाट सिलाई कटाई र ढाका बुनाई सम्बन्धि तालिम सञ्चालन गरेको हो । यो संगै नयाँ उद्यमी सिर्जना गर्न आर्थिक वर्ष २०७८÷०७९ मा सञ्चालन गर्नुपर्ने सवै तालिम सञ्चालन भएका सहजकर्ता विसीले बताउनुभएको छ ।