सुर्य प्रकाश बुढामगर/रोल्पा
रोल्पाको परिवर्तन गाउँपालिकाले घरेलु हिंसा नियन्त्रण गर्न सासु बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले आजदेखि सासु बुहारी शिक्षा कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम आगामी वैशाख २ गतेसम्म चल्ने गाउँपालिकाले सुचना जारी गरेर जानकारी गराएको छ ।
यो कार्यक्रम पालिकाको सबै वडामा सञ्चालन हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवराज न्यौपानेद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ । ६ वटा वडा रहेको गाउँपालिकाको १ नम्बर वडास्थित कुरेलीको खरिबोटमा आज कार्यक्रम गरिएको छ । यस्तै २ नम्बर वडाको राङ्सी पोखरामा २८ गते, ३ नम्बर वडाको इरिबाङ थुनीकोटमा २९ गते, वडा नम्बर ४ को पाछाबाङ राक्सेमा ३० गते सासु बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै वैशाख १ गते वडा नम्बर ५ को राङकोट गोरीचौरमा र वडा नम्बर ६ को इरिबाङ कोल्बोटमा वैशाख २ गते कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सासु बुहारी बिचमा द्धोन्द्ध हुने गरेको र जनचेतनामुलक कार्यक्रममा कम सहभागी भएकाहरुलाई प्राथमिकता दिइने छ । पालिकाले प्रत्येक वडामा ४० देखि ५० जना सासुबुहारीलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको छ ।।