रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यहाँका दुई सय ३७ जना नागरिकलाई विगत ९ महिनायताको सामाजिक सुुरक्षा भत्ता वडाबाटै वितरण गरिएको हो । नेपाल सरकारले नै सामाजिक सुरक्षा भत्ता वितरणलाई बैकिंङ प्रणालीमा लगेपछि बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता नलिएकाहरुलाई शनिबार वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो ।

वडाले भूमे गाउँपालिकाको खाबाङमा रहेको सिटिजन्स बैंक शाखासँग समन्वय गरेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष पुनले बताउनुभयो । उहाँकाअनुसार वडाका एक सय २१ जना ज्येष्ठ नागरिक, २२ जना दलित ज्येष्ठ नागरिक, ४१ जना एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यस्तै ४३ जना असहाय महिला र १० जना अपांगता भएका व्यक्तिलाई भत्ता वितरण गरिएको हो ।

उनिहरु सबैलाई ९ महिना यताको भत्ता एकमुष्ट रुपमा उपलब्ध गराइएको हो । उनिहरुले १९ देखि ३६ हजारसम्म भत्ता बुझेको वडाध्यक्ष पुनले बताउनुभयो । कतीपयले बैंकसम्म पुगेर यसअघि नै भत्ता बुझिसकेका थिए भने बैंकसम्म पुग्न नसकेकाहरुलाई बैंकसँग समन्वय गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष पुनले बताउनुभएको छ ।