वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नाबालक÷बालबालिकालाई प्रयोग गरेको भन्दै रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ३ मा रहेको बाल सञ्जाल पोखराले आपत्ती जनाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेसलगाएतका राजनीतिक दलले झन्डा बोकाएको चुनावी नारा लगाउदै बालबालिकालाई सडकमा प्रदर्शन गरेको भिडियो सार्वजनिक भएसँगै बाल सञ्जाल पोखराका अध्यक्ष अम्मर खत्री र सचिव सुधा खड्काले विज्ञप्ती निकाली घोर आपत्ति जनाउनु भएको छ ।

विज्ञप्तीमा भनिएको छ, “विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारको अभियानमा कम भन्दा कम उमेरका बालबालिकालई प्रयोग गर्दै आएको पाइएको छ । संजाल यसको घोर विरोध गर्दछ । अबका दिनमा चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग भएको पाइएमा बाल सञ्जाल जुनसुकै कदम चाल्न बाध्य हुनेछ ।” राजनीतिक दललाई आफ्नो स्वार्थको लागि चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग नगर्न बाल संजाल पोखराले चेतावनी दिएको छ ।