रुकुम(पूर्व) को भूमे गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिकाको बैठक बसेको छ । खाबाङ बगर स्थित गाउँपालिकाको सभा हलमा आइतबार नव निर्वाचित गाउँ कार्यपालिकाको पहिलो बैठक बसेको हो । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आई गाउँ कार्यपालिका गठन पछि पहिलो पटक बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्त अवधि सम्मको आय र व्यय अवस्थाबारे जानकारी गराएको छ । चालु आर्थिक वर्षमा कुल गाउँपालिकाको बजेट ५२ करोड ६१ लाख ४० हजार एक सय ६३ रुपैयाँ रहेकोमा हाल सम्म २६ करोड ४० लाख ४२ हजार ८० रुपैयाँ खर्च भएको श्रेष्ठले बताउनुभयो । जसमा २६ करोड २० लाख ९८ हजार ८२ रुपैयाँ कार्यन्वयनको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाका विषयगत शाखा र वडा कार्यालयको सेवा प्रवाह सन्तोष जनक रहेको बैठकले निष्कर्ष निकालेको छ । यसैगरी गाउँपालिकाको विशेष पर्व भूम्या पर्वको अवसरमा स्थानीय भाषा, संस्कृति संरक्षण, संवद्र्धन, पुस्तान्तरण र प्रचारप्रसारका लागि आउँदो असार २ गते देखि विभिन्न विधामा प्रतियोगिता सञ्चालनका लागि विनियोजित बजेट १२ लाख रुपैयाँ बैठकले स्वीकृत गरेको छ । स्थानीय कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स र चुनबाङ स्वास्थ्य चौकीको लागि खरिद गरिएको एम्बुलेन्स सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

यसैगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि प्रचलित कानून बमोजिमको कार्य गर्न राष्ट्रिय भूमि आयोग र भूमे गाउँपालिका बीच गएको चैत १० मा भएको कार्य सहमति पत्रका विषयमा कार्यपालिकामा छलफल गरी कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । साथै भूमे गाउँपालिकाको सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको छ । कार्यपालिकाको बैठकले वडा नम्बर २ का वडाध्यक्ष नारायण पुन मगरलाई कार्यपालिकाको प्रवक्ता तोकेको छ ।