रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारको लागि जनप्रतिनिधि र शिक्षकबिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिस्ने गाउँपालिका र सिस्ने ५ नम्बर वडामा रहेको रुक्मिणी माविका शिक्षक र विद्यालय वयवस्थापन समितिसँग विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक समस्या र यसको समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

विद्यालयमा पठनपाठनको क्रममा देखिएका शैक्षिक तथा भौतिक पक्षका समस्याहरूका बारेमा विद्यालयमा अध्यापनरत शिक्षकहरुले जानकारी गराएका थिए । जानकारीका क्रममा विभिन्न विषयगत शिक्षकहरुले आफ्ना समस्याहरु सहित विभिन्न मागहरू पनि राखेका थिए । भौतिक पक्षमा बलियो भएको रुक्मिणी माविलाई अब शैक्षिक क्षेत्रतर्फ बलियो बनाउन ध्यान दिनुपर्नेमा सहभागी शिक्षकहरुले जोड दिएका थिए ।

शिक्षकहरूले उठाएका विभिन्न समस्याहरूमा सिस्ने गाउपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ्ग बुढाले जवाफ दिनुभएको थियो । सिस्ने गाउँपालिकले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्यका साथ प्रत्येक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गर्ने सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो । साथै सिस्ने सरकारले शिक्षा क्षेत्रलाई विशेष रुपमा हेरेको कारण पनि शिक्षाको पाटोमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने उहाको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रेग्मी, उपाध्यक्ष रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुढा, प्रबिधि सहायक नरेन्द्र ओली, रुक्मिणी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश थापा, प्रधानाध्यापक चन्द्र बहादुर मल्ल लागाएत विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुढाले गर्नु भएको थियो ।