हिकमत प्रोतेल/रुकुम(पूर्व)

 

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका १२ का वडा सदस्य बिरमान विकले ज्योति आधारभूत विद्यालय फल्नैलाई १० हजार आर्थिक सहयोग गर्नुभएको छ । गत आर्थिक वर्षको कोरोना प्रभावित राहत बापत आफुले पाएको १० हजार रकम विकले विद्यालयलाई सहयोग गर्नुभएको हो ।

गत आर्थिक वर्ष कोरोनाकै कारण विदेशबाट घर फर्कनुभएका विक गत महिना वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल सरकारले कोरोना प्रभावितलाई रु १० हजारका दरले राहत दिने निर्णय सँगै वडाले विकलाई पनि राहतको लागि सिफारिस गरिएको थियो । गत आर्थिक वर्षमा कोरोनाकै कारण विदेशबाट फर्किएपछि कारोना प्रभावित राहतमा सिफारिस भएता पनि अब आफू नै वडा सदस्य भैसकेकोले उक्त राहत रकम आफुले नराख्ने निर्णय गरेको सदस्य विकले बताउनुभयो ।

आफुले पाउने राहत रकम शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी भएको उहाँको भनाई छ । उहाँका अनुसार सानो सहयोगले पनि शैक्षिक क्षेत्रमा राहत पुग्ने छ । सदस्य विकले विद्यालय व्यवस्थापन समितिको बैठकको अवसर पारी सहयोग गर्नुभएको हो । सदस्य विकले गरेको सहयोग रकम विद्यालयका प्रधानाध्यापक गणेश थापाले बुझ्नुभएको छ । विद्यालयलाई शक्ति आमा समुहले पनि रु ५० हजार सहयोग गरेको छ । भुपु महिला वडा सदस्य मनिकुमारी छन्त्याल अध्यक्ष रहेको आमा समुहले रु ५० हजार सहयोग गरेको हो ।

यस्तै विद्यालयलाई इन्द्रेणी युवा क्लबले पनि रु ५० हजार सहयोग गर्ने भएको छ । क्लबको तर्फबाट पनि विद्यालयलाई सहयोग गर्ने क्लबका अध्यक्ष विकास छन्त्याले बताउनुभयो । अध्यक्ष छन्त्यालका अनुसार अर्को हप्तासम्म क्लबको तर्फबाट सहयोग उपलब्ध गराइने छ । सबै क्षेत्रबाट भएको आर्थिक सहयोगको उचित सदुपयोग गर्ने प्रधानाध्यापक थापाले बताउनुभयो । सहयोग प्राप्त भएको रकम विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार खर्च गरिने व्यवस्थापन समिति अध्यक्ष भरत घर्तीले बताउनुभएको छ ।