रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएका सबैलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर मार्फत सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

पहिलो चरणमा सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठसहित चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने दोस्रो चरण्मा नेपाल प्रहरीका डिएसपी डाँगी र प्रहरी जवान इन्द्र घर्तीलाई थप उपचारको लागि नेपालगन्ज लगिएको हो । अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगञ्ज लगियो । उहाँलाई त्यहाँ लग्ने बित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अहिले भने नेपाल प्रहरीका डिएसपी डाँगीको शिक्षण अस्पताल बाके र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र क्षेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट करिब १ सय मिटर तल खसेको बताइएको छ ।