रुकुमकोट । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज रुकुम पूर्व सहित देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरू भएको शास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने चाहिँ छैन । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । चिकित्सकले समेत आफ्नो स्वास्थ्यको ख्याल गरेरमात्र व्रत बस्न आग्रह गर्दै आएका छन् ।आज बिहानैदेखि सदरमुकाम रुकुमकोट स्थित शिव र बाह्र मन्दिर लगायत देशका विभिन्न शिवालयमा व्रतालुको भीड लागेको छ ।