आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले प्रदेश-१ को तराई क्षेत्र र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोपख देशभर मौसम बदली रहने पूर्वानुमान छ । देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

आज रुकुम पूर्व सहित देशभर दिउँसोपख हल्का वर्षा हुनसक्ने सम्भावना छ । तर निरन्तर वर्षाको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

आज राति प्रदेश एक, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।