रुकुम(पूर्व) मा सिस्ने गाउँपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । गाउँपालिकाले आजबाट निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो ।
रुकुम(पूर्व) जस्तो दुर्गम क्षेत्रबाट सरकारी जागीरमा प्रवेश गराउने उदेश्यका साथ गाउँपालिकाले लोक सेवा आयोगको लागि पूर्व तयारी कक्षा सञ्चालन गरेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्विकृत कार्यक्रमअनुसार लक्षित समुदायका लागि गाउँपालिकास्तरीय लोक सेवा आयोग पूर्व तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष रेग्मिले बताउनुभएको छ ।
निशुल्क लोक सेवा पूर्व तयारी कक्षामा सहभागीताको लागि गाउँपालिकाको कार्यालयमा १ सय ८ जनाले निवेदन दिएपनि आज पहिलो दिन ३७ जना सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनभयो । अन्य दिनमा कक्षामा सहभागी हुनेहरुको संख्या बढ्ने उहाँको भनाई छ । पहिलो दिन प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सहभागीहरुलाई प्रशिक्षण गर्नुभएको छ ।
विशेष गरी नासु र खरिदार तयारीलाई सहयोग पुग्ने गरी सामान्य ज्ञान र आइक्युलाई जोड दिइने प्रमुख प्रशासकिय अधिकृत शाहले बताउनुभयो । उहाँको अनुसार तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुने छ । जिल्लास्थित विभिन्न कार्यालयमा कार्यरत अनुभवी प्रशिक्षकहरुबाट कक्षा सञ्चालन गरिने छ ।
सिस्ने गाउँपालिकामा स्थायी बसोबास भएका र १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा कम्तिमा एस।एल।सी÷एस।ई।ई। उत्तिर्ण गरेको मापदण्ड राखी लोक सेवा आयोगको पूर्व तयारी कक्षा सञ्चालनमा सहभागी हुन सुचना प्रशारण गरिएको थियो । सोहि सुचनाअनुसार गाउँपालिकाको सम्पर्कमा आएकाहरुको लागि आयोगको तयारी कक्षा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
यतीबेला लोक सेवा आयोगको विज्ञापन धमाधम खुलिरहेको बेलामा गाउँपालिकाले सञ्चालन गरेको निशुल्क कक्षाले लोक सेवा तयारी गरिरहेकाहरुलाई थप मदत मिल्ने गाउँपालिकाले जनाएको छ ।
रुकुम(पूर्व) मै लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन हुने गरेका छैनन् । यहाँका मानिसहरु लोक सेवा आयोगको तयारी कक्षा लिनको लागी दाङ, सुर्खेत, काठमाडौं लगाएतका ठाउँमा जाने गरेका छन् । गाउँपालिकाले रुकुमकोटमै निशुल्क रुपमा तयारी कक्षा सञ्चालन गरेपनि आफुलाई निकिै खुसी लागेको सिस्ने गाउँपालिका ३ का अम्मर खत्रीले बताउनुभयो ।