रुकुम(पूर्व) मा यही फागुनको १४ गतेबाट कोभिड १९ विरुद्धको फाइजर वायोभाइलेन्ट खोपको बुस्टर डोज लगाइदै छ । पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडाका ५५ वर्ष माथीका नागरिक र कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीहरुलाई खोप लगाइने भएको छ ।

खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । यसअघि कोभिड १९ को पहिलो, दोस्रो मात्रा पुरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई ६ महिना अवधि पुगेका ५ र ६ नम्बर वडाका ५५ वर्ष माथीका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम् ल्याव टेक्निसियन निमप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती महिला, १२ वर्ष माथीका दिर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिहरुलाई खोप लगाइने छ ।

यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका ५ को रुमालबारा स्वास्थ्यचौकी, टाकुराको आखा उपचार केन्द्र नजिकै, रुकुम (पूर्व) अस्पतालबाट खोप लगाइने छ भने ६ नम्बर वडामा छिप्रीदहको विन्द्यावासीनीको मन्दिर प्राङ्गनबाट खोप लगाइने स्वास्थ्य कार्यालयका सुचना अधिकारी गिरीले बताउनुभयो । छुटेकाहरुलाई रुकुम(पूर्व) अस्पतालबाट खोप लगाइने छ ।

अहिले जिल्लामा ३ सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ । अब दोस्रो चरणमा आएको खोप क्रमश भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।