नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पार्टी जिल्ला इन्चार्ज तेजबहादुर ओलीले गठबन्धनले देश र संविधानको रक्षा गरेको बताउनुभएको छ । आगामी मंसिर ४ मा हुने प्रदेशभा निर्वाचन क्षेत्र नम्बर १ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेद्वार समेत रहनुभएका नेता ओलीले पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा उत्तरगंगा क्षेत्र कमाण्डको गठबन्धन बैठकमा बोल्दै यस्तो बताउनुभएको हो ।
यसअघि सरकारमा हुँदा एमालेले संविधान विपरित कदम चालेको बताउदै त्यहि प्रतिगमणको विरुद्धमा पाँच दलिय गठबन्धन बनेको बताउनुभयो । अझै पनि प्रतिगमणको सम्भावना नसकिएको बताउदै नेता ओलीले कुनै पनि हालतमा पाँच दलिय गठबन्धन नै अबको चुनावमा विजयी भएर सरकारमा पुग्नुपर्ने धारणा राख्नुभयो । विरोधीहरुलाई स्थानीय तहको चुनावबाट एक तहको झट्का दिइसकेको बताउदै उहाँले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट अर्को झट्का दिने बताउनुभयो । अहिलेको गठबन्धन एउटा व्यक्तिलाई प्रधानमन्त्रि बनाउन नभई लोकतन्त्र, संविधानको रक्षा र प्रतिगमणकारीलाई परास्तको लागि भएको उहाँको भनाई छ ।
रुकुम(पूर्व) मा स्थानीय तहको चुनावमा माओवादीले समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको थियो भने कांग्रेसले एमालेसँग मिलेर चुनाव लडेको थियो । स्थानीय तहको चुनावको घाउ आलै भएपनि राष्ट्रिय आवश्यकताले जन्माएको गठबन्धन समुहका उम्मेद्वारलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाँले विगतमा भएका तितामिठा कुराहरु बिर्सेर गठबन्धन भित्रका दलहरु मिलेर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । चुनावमा विजयी भएर गइसकेपछि जिल्लाको समृद्धिको लागि हर कदम चाल्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भिउमान घर्तीले राष्ट्रिय आवश्यकताको कारण भएको गठबन्धनलाई सफल बनाउन सबैमा अपिल गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जुनकुमारी रोका, माओवादी केन्द्रबाट समानुपातीक उम्मेद्वार बन्नुभएकी दिलकुमारी बुढा लगाएतले निर्वाचन क्षेत्र नम्बरर १ बाट गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन अपिल गर्नुभएको छ । कोलमा उत्तरगंगा क्षेत्र कमाण्डका संयोजक ओमकुमारी मल्लको अध्यक्षतामा गठबन्धनको बैठक बसेको थियो । बैठकको सहजिकरण नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका समितिका उपाध्यक्ष गंगा बहादुर पुनले गर्नुभएको थियो ।

