
रुकुम(पूर्व) मा यहि चैत्र २५ गतेबाट सञ्चालन हुन लागेको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा करिब एक सातासम्म चल्ने टाइफाईड बिरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
जिल्लामा अभियानको रुपमा चैत्र २५ गतेबाट २९ गतेसम्म पाँच दिन खोप कार्यक्रम सञ्चालन गरिने छ । खोप लगाउने मानिसहरु धेरै भएको ठाउँमा भने सात दिनसम्म पनि यो अभियान सञ्चालन गरिने कार्यालयले बताएको छ । टाईफाईड बिरुद्धको खोप अभियान सञ्चालनको लागि अहिले खोप केन्द्र तोक्नेदेखि लिएर स्वयमसेवक परिचालन, स्वास्थ्यकर्मीलाई तालिम, जनप्रतीनीधिसँग समन्वय गर्ने लगाएतका कामहरु गरेको कार्यालयका सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जिल्लामा अभियानको लागि साविकको १६ वटा गाविसका एक सय ४४ वटा वडा र भौगोलिक विकटतालाई मध्यनजर गर्दै ४ वटा थप गर्दै एक सय ४८ वटा खोपकेन्द्र तोकिएको छ । सिस्नेमा ४१, भूमेमा ४६ र पुथाउत्तरगंगा गाउँपालिकामा ६१ वटा खोपकेन्द्र तोकिएको छ । २ सय ९६ स्वयमसेवक खटिने छन् । खोप कार्यक्रम सञ्चालाको लागि आवश्यक तयारी लगभग पुरा भएको बताउदै अब खोप आउन र खोप वितरण गर्ने काम मात्र बाकि रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।
खोप आउनेबित्तिकै कार्यालयले गाउँपालिकालाई हस्तान्त्रण गर्ने र पालिकाले सम्बन्धित खोप केन्द्रमा वितरण गर्ने छन् । अभियानको क्रममा जिल्लाका १५ महिनादखि १५ वर्षसम्मका १८ हजार ४ सय १८ जना बालबालिकालाई खोप लगाइने छ । अभियानको क्रममा खोप केन्द्रको सम्बन्धित पालिका र स्वास्थ्य कार्यालयले अनुगमण गर्ने छन् । कार्यालयले खोप अभियानको सबै तयारी पुरा गरेपनि लक्षित सबै बालबालिकालाई अभियानमा समेट्न सकिन्छ की सकिदैन भन्ने कुरा भने चुनौतीको रुपमा रहेको कार्यालयका सुचना अधिकारी गिरीले बताउनुभयो ।
रुकुम(पूर्व) भौगोलिक हिसाबले विकट, चैत्य दशै पर्नु र एसइईको परिक्षा सञ्चालन र सबै बालबलिका विद्यालयको पहुँचमा नहुनुले पनि खोप अभियान सफलतामा चुनौती थपेको उहाँको भनाई छ । कार्यालयले सबै लक्षित बालबालिका र उनिहरुका अभिभावकलाई सम्बन्धित ठाउँको खोपकेन्द्रमा गएर खोप लगाउन तथा यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ । यस अभियान पछि भने टाइफइड बिरुद्धको खोपलाई बच्चा जन्मेको १५ महिना पुग्ने बित्तिकै नियमित खोपको रुपमा लगाइने छ ।
अहिले सरकारले नै यहि चैत्रको २५ देखि वैशाख १८ गतेसम्म देश व्यापी रुपमा १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाईफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्दै छ ।