रोल्पाको थबाङ गाउँपालिकामा निशुल्क महीला शिविर सञ्चालन गरिएको छ । नेपाल परिवार नियोजन संघ घोराही दाङ र थबाङ गाउँपालिकाको प्राविधिक सहयोग तथा ग्लोबल आइएमइ बैंक लिमिटेड थबाङको आयोजनामा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर थबाङमा सम्पन्न भएको हो ।

जलजाल अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा संचालित शिविरमा १२३ जना महिलाहरुले स्वास्थ्य चेकजाच गरेका छन । १२३ जना मध्ये १ जना महिलाको बार्थलिङ सिस्टको माइनर सल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको फ्याम्ली फिजिसियन अमित लामगाडेले बताउनु भयो । शिविरमा आएका महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावरी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्या भएको पाइएको छ ।

शिविरमा नेपाल परिवार नियोजन संघ दाङ घोराहीका ६ जना र जलजाल अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थ्यकर्मीहरुको समुहले सेवा दिएका थिए । ग्लोबल आइएमई बैकको १५ औँ वार्षिक उत्सवको अवसरमा “मेरी उनीलाई स्वस्थ नारी पहल” कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको ग्लोबल आइएमई बैक थबाङ शाखा प्रबन्धक विष्णु राउतले बताउनुभयो ।

विशेष गरि थबाङका महिलामा शिक्षाको कमी र भौगोलिक विकटताले गर्दा उनिहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या पाइएको र सामान्य उपाचर समेत गर्न शहर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो शिविर आयोजना गरिएको प्रबन्धक राउतले बताउनुभयो ।

ग्लोबल आई एम ई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष ७ वटै प्रदेशमा निशुल्क महिला स्वास्थ्य सिविर सञ्चालन गरेको छ । सोही अन्तर्गत लुम्बिनी प्रदेशमा बैंकको राम्रो प्रभाव रहेको रोल्पा जिल्लाको विकट स्थान थबाङमा यो कार्यक्रम सञ्चालन गरिएको थबाङ शाखाले जनाएको छ ।

थबाङ आएर सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै उत्साह पुर्वक रुपमा शिविर सम्पन्न भएको नेपाल परिवार नियोजन संघ घोराही दाङका शाखा प्रबन्धक बसन्त खनालले बताउनुभयो । गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले ग्लोबल आइएमई बैक लिमिटेड तथा नेपाल परिवार नियोजन संघ दाङ घोराही शाखालाई शिविर संचालन गरेकोमा धन्यवाद दिनुभएको छ ।

नेपाल परिवार नियोजन संघ दाङका सभापति तिर्थ सन्तोषीको अध्यक्षतामा संचालन भएको शिविरमा थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकामगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर ओली, डाक्टर रियुकिइ इसिदा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल परिवार नियोजन संघ दाङ घोराहीका शाखा प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन थबाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुनले गर्नुभएको थियो ।