रुकुम(पूर्व) मा नेकपा एमाले र कांग्रेसले गठबन्धन गरेका छन् । कांग्रेसले गठबन्धनभन्दा बाहिर गएर अन्य दलसँग तालमेल नगर्ने भनेर केन्द्रिय सर्कुलर आएपनि सर्कुलरको बेवास्ता गर्दै दुई गाउँपालिकामा एमालेसँग गठबन्धन गरेको हो । गठबन्धनअनुसार नै एमाले कांग्रेसले सिस्ने र भूमेमा मनोनय दर्ता गराएका छन् ।
सिस्नेमा अध्यक्षको लागि नेपाली कांग्रेसबाट दत्तबहादुर बस्नेतले आइतबार नै मनोनयन दर्ता गराइसक्नुभएको छ भने उपाध्यक्ष पदको लागि नेकपा एमालेको तर्फबाट सोमबार गोपाल रेउलेले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै सिस्नेमा ८ वटा वडा छन् । यी वडाहरु सबैमा भने तालमेल भएको छैन् । १ नम्बर वडामा कांग्रेसबाट वडाध्यक्षको लागि कर्णबहादुर बुढा, एमालेबाट नन्दबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ । २ मा नेपाली कांग्रेसबाट मात्रै चंखे झाक्रिले मनोनयन दर्ता गराउदा ३ बाट एमालेको तर्फबाट भावना केसीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ४ नम्बर वडामा कांग्रेसबाट खिमबहादुर केसी, एमालेबाट दलराज घर्ती, ५ मा कांग्रेसबाट विरेन्द्र बस्नेत, एमालेबाट ओमप्रकाश थापा, ६ मा एमालेबाट पूर्णबहादुर मल्ल, ७ मा कांग्रेसबाट डिलबहादुर ओली र एमालेबाट शशिधर बुढाले मनोनयन दर्ता गराउनुभएको छ भने ८ नम्बर वडामा कांग्रेसबाट इन्द्रबहादुर खत्रीको र एमालेबाट भूपेन्द्र पुनले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै भूमे गाउँपालिकामा अध्यक्ष पदको लागि नेपाली कांग्रेसबाट भिमबहादुर ओली र उपाध्यक्ष पदको लागि नेकपा एमालेबाट कमानसिहं डाँगीले मनोनयन दर्ता गराउनुभएको छ ।