
रुकुम(पूर्व) को भूमे गाउँपालिका १ लुकुममा सञ्चालित दोस्रो भूमे फिडे रेटिङ चेस च्याम्पियनसिप २०७९ को उपाधी झापाका राजन सुवेदीले हात पार्नुभएको छ । सुवेदीले च्याम्पियनसिपमा विजेता बन्दै ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १५ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।
यस्तै उपविजेता बन्दै छिमेकी राष्ट्र भारतका सौरब चौभेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गर्दा तृतीय हुने खोलाडी भारतकै विजय चौहानले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष बबिदेवल पुनले जानकारी दिनुभयो । उहाकाअनुसार क्रमश दिपक धामी, प्रमोसन बुढा मगर, बविदेवल पुन र सितल बुढाले चौथो, पाँचौ, छैटौं र सातौ स्थान हासिल गर्नुभएको छ ।
चौथो स्थानदेखि सातौ स्थानसम्म रहेका खेलाडीलाई क्रमशः ६ हजार, पाँच हजार, ४ हजार, तीन हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष पुनले बताउनुभयो । पुनकाअनुसार च्याम्पियनसिपमा भाग लिनको लागि नेपालको विभिन्न जिल्ला रुकुम(पूर्व) सहित झापा, कन्चनपुर र भारतको उत्तराखण्डबाट खेलाडिहरु आएका थिए ।
युवा विकास केन्द्र भूमे गाउँपालिकाको आयोजना र रुकुम(पूर्व) जिल्ला बुद्धिचाल संघको सहआयोजनामा वैशाख ११ बाट १३ गतेसम्म चेस प्रतियोगिता सञ्चालन गरिएको हो । युवा विकास केन्द्र भूमेका संयोजक सुनिल रोकाको अध्यक्षतामा भएको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा रुकुम(पूर्व) बुद्धिचाल संघका अध्यक्ष पुनको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वेदना बुढामगरले गर्नुभएको थियो ।