रुकुम(पूर्व) को सिस्ने गाउँपलिका वडा नम्बर ५ मा रहेको अल्पकालिन सुरक्षित आवास गृह (सेफ हाउस) बाट दुई वर्षमा साढे दुई सय भन्दा धेरै हिंसा पिडितले सेवा लिएका छन् । गाउँपालिकामा स्थापना गरिएको सेफ हाउसमा दुई वर्षको अवधिमा दुई सय ७३ जना हिंसा पिडित महिला, बालबालिका तथा केहि पुरुषहरले सेवा लिएका छन् । आज सिद्धार्थ सामाजिक विकास केन्द्र कपिपलवस्तुको समन्वय र सिस्ने गाउँपालिकाको आयोजनामा सञ्चालित सेफ हाउस सञ्चालन तथा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन सम्बन्धि समिक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

सेफ हाउसबाट सेवा लिनेहरुमा महिला २ सय ६० र पुरुष २३ जना रहेको सेफ हाउसकी मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी गराउनुभयो । उहाँकाअनुसार सेफहाउससबाट सेवा लिनेहरुमा १८ वर्ष मुनीका ४२ जना, ४९ वर्ष मुनीका दुई सय ३३ जना र ५० वर्ष माथीका ८ जना रहेका छन् । जसमा शारिरिक हिंसाका ९८ जना, मानसिक हिंसाका एक सय १०, रेफ केसका १७ जना, बोक्सि आरोपमा ३ जना पिडितले सेफ हाउसमार्फत सेवा लिएको मनोविमर्शकर्ता मल्लले जानकारी गरनउभुएको छ ।

यस्तै सम्बन्धविच्छेदका १६, बालविवाहका २, बहु विवाहका २, स्रोत साधनबाट बन्चित २७ जना, ज्यान सम्बन्धि ३ र श्रम शोषणमा परेका एक जना बालकलाई पनि सेफ हाउसमार्फत सेवा प्रदान गरिएको छ । मनोविमर्शकर्ता मल्लकाअनुसार सिस्ने गाउँपालिकाका सबै भन्दा बढी दुई सय २७ जना, भूमे गाउँपालिकाका २९ जना, पुथाउत्तरगंगा गाउँपालिकाका २२ जना, रोल्पाका ३ जना र रुकुम(पश्चिम) का एक जनाले सेवा लिएका छन् । अहिले सेफ हाउसमार्फत सेवा लिने सिस्नेका धेरै देखिएका छन् । यस्तै पिडित भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा नभएका भने होइनन् ।

जनसंख्याको आधारमा सानो जिल्लामा हिंसा पिडितहरुको यो तथ्याङ्क हेर्ने हो भने अवस्था भयावह नै रहेको समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाहरुले बताएका छन् । यो संकेत राम्रो नभएको बताउदै सहभागिहरुले गाउँघरमा हुने वाल विवाह, बहु विवाह, लैगिंक विभेद अन्त्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

यस्तै सिस्ने गाउँपालिकामा खडा गरिएको लैगिंक हिंसा निवारण कोषमार्फत केहि व्यवसाय गर्न चाहने हिंसा पिडित महिलाहरुलाई पनि सहयोग गरिएको छ । कोषमार्फत दुई वर्षको अवधिमा ४ जना महिलालाई सहयोग गरिएको छ । ३ जनालाई दश दश हजारको दरले र एम जनालाई १८ हजारको दरले सहयोग गरिएको छ । उहाँहरुले अहिले कुखुरा पालन र बाख्रा पालन गरेर बसिरहेको पनि बताइएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालले पृत्तीसतात्मक सोचका कारण महिला तथा बालबालिकामाथी हिंसा हुने गरेको बताउनुभयो । जवसम्म महिला आफै आत्मनिर्भर हुदैनन् तबसम्म लैगिंक हिंसा अन्त्यको प्रयासहरु सफल नहुने उहाँको भनाई थियो । लैगिंक हिंसा अन्त्यको लागि पालिकाले विभिन्न कामहरु गरेको पनि अध्यक्ष बरालले बताउनुभयो ।

२०७६ साल माघमा उद्धघाटन भएको सेफ हाउसले २०७७ जेठबाट सेवा प्रवाह सुरु गरेको थियो । सिस्ने गाउँपालिकासँगै सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, युएनएफपिए र रुकुमकोट महिला बहुउदेश्यीय सहकारी संस्थाको संयुक्त सहकार्य समन्वयमा सेफ हाउस सञ्चालन भइरहेको छ ।