रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कोट मावि रुमालबाराले नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा विद्यालय सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयमा भएका विभिन्न समस्याहरु जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सप्पन्न गरिएको गरिएको हो ।

साथै विद्यालयले विभिन्न समस्याहरुको बारेमा माग राख्दै माग पत्र पनि जनप्रतिनिधिलाई पेस गरेको छ । माग पत्र पेश गर्दै प्रधानाध्यापक शरदचन्द समालले अन्य विद्यालयको तुलनामा कोट मावि रुमालबारा सबै हिसाबले कमजोर भएको बताउनुभयो । विद्यालयमा आवश्यकता अनुसार विषगत शिक्षकको दरबन्दी नभएको, विद्यालय परिसरमा घेराबार नहुदा वस्तुभाउ छाडा छोडने जस्ता विभिन्न समस्या भएको बताउदै यो समस्याको समाधान गाउँपालिका सरकारले गरिदिनेमा आफुहरु विश्वस्त भएको उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले शिक्षालाई सुधार गर्न सिस्ने सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ । रेग्मीले विद्यालयले राखेको मागलाई प्राथमिकता आधारमा सम्बोधन गर्न सिस्ने सरकार प्रतिबद्ध रहेको र विद्यालय सुधार गर्न शिक्षक र अभिभावकको पनि महत्वपुर्ण भुमिका रहने भएको हुदा मनैदेखी लाग्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सिस्ने सरकारले ५ बर्षको कार्यकालमा देखिनेगरी केही बिषयगत गुणात्मक परिवर्तन ल्याउने बताउनुभयो ।

यस्तै उपाध्यक्ष गोपाल रेउलेले शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर निर्वाचित भएदेखी सिस्ने सरकार लागि परेको बताउनुभयो । विद्यालयका आवश्यकता अनुसार प्राथमिकताका आधारमा मागहरु सम्बोधन गर्दै जाने रेउलेको भनाई छ । वडा अध्यक्ष बिरेन्द्र बस्नेतले बचपनमा आफुले अध्ययन गरेको विद्यालय भएको कारणले वडा सरकारबाट हुन सक्ने सहयोगमा कुनै कन्जुस्याई नगरी विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । वडाबाट हुने काम वडाबाट समाधान गर्ने र हुन नसक्ने बाकी समस्यालाई पालिकादेखि प्रदेश सरकारसम्म समन्वय गर्दै समस्याको समाधान गर्ने बताउनुभयो ।