रुकुम(पूर्व) को सिस्ने सिस्ने गाउँपालिकामा महिलाहरुको लागि सशक्तिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले महिला विकासको लागि संयुक्त राष्ट्रसंघको प्रस्ताव १३२५ र १८२० का बारेमा ६ नम्बर वडाका महिला समितिका सदस्यलाई राखेर अभिमुखीकरण कार्यक्रम गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा लैगिंक हिंसा १३२५ र १८२० मा संयुक्त राष्ट्रसंघले गरेको व्यवस्था, चिन बेइजिङ घोषणा पत्रलगाएतका विषयमा अभिमुखीकरण दिइएको छ । यहि कार्यक्रम सिस्ने ५ का महिलाहरुलाई २४ गते दिइएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्री र सेफ हाउसकी मनोविमर्शकर्ता सुगन्धा मल्लले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अधयक्ष कृष्ण रेग्मिले महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले सक्षम हुनुपर्ने बताउनुभयो । यद्यपी अहिलेको अवस्थामा सबै महिलाहरु सक्षम भइनसेको बताउदै उहाँले महिला अधिकारको लागि महिला नै सशक्तिकरण हुनुपर्ने बताउनुभयो । अहिलेका महिलाहरुले राज्यले व्यवस्था गरेको अधिकारको पनि राम्रोसँग प्रयोग गर्न नसकेकोतर्फ इकिंत गर्दै अध्यक्ष रेग्मिले अहिले व्यवस्था भएको महिला अधिकार पनि प्रर्याप्त नभएको बताउनुभयो । आफ्नो हक अिधकारको लागि सबै महिला एक जुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष रेग्मिको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, सामाजिक विकास शाखा प्रमुख मंगलसिंह बुढालगाएत सिस्ने ६ का महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।