रुकुम(पूर्व) मा जिल्लास्तरीय मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवम् प्रतिकार्य समिति (एम.पी.डि.एस.आर) निर्माण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले मंगलबार छिप्रीदहमा आयोजना गरेको समुदायस्तरीय मातृ मृत्यु तथा प्रतिकार्य सम्बन्धि सरोकारवालासँग अभिमुखीकरण कार्यक्रमको अवसर पारि जिल्लास्तरीय मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवम् प्रतिकार्य समिति निर्माण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको हो । जसको सदस्य सचिवमा स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायणप्रसाद चौधरी रहनुभएको छ । भने सदस्यमा स्वास्थ्य कार्यालयकै पब्लिक हेल्थ नर्स अधिकृत दिपा खड्का हुनुहुन्छ । दुई जना सदस्य भने पछि थपिने भएको छ । यस्तै तीन वटै गाउँपालिकामा पनि पालिका अध्यक्षको संयोजकत्वमा एम.पी.डि.एस.आर समिति निर्माण गरिने भएको छ ।

मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यको परिचय तथा औचित्यको बारेमा विस्तृत जानकारी गराउने, नेपालको मातृ मृत्यु निगरानी तथा प्रतिकार्यको प्रणालीबारे विस्तृत विवरण र राष्ट्रिय स्वास्थ्य प्रणालीको प्रत्येक तहका कसरी सञ्चालन गर्ने भन्ने जानकारी गराउने समितिको उदेश्य रहेको छ । सहभागिहरुको तथ्याङ्क संकलन गर्ने, विश्लेषण गर्ने, कार्यायोजना बनाउने, प्रतिकार्य गर्ने, प्रतिवेदन बनाउने, प्रतिकार्य प्रणालीको हरेक अंगबारे सहभागिहरुले ज्ञान तथा सिप प्रदान गराउने र नवजात शिशु तथा आमाको जिवन रक्षा गर्न स्थानीय क्षमता सुदृढिकरण गराउने लगाएतका उदेश्य रहेका छन् ।

अब यस समितिमार्फत जिल्लामा १२ देखि ५५ वर्षबिचका समुहका महिलाको मृत्यु भएमा उनिहरुको मृत्यु मातृ मृत्यु हो या त अन्य केहि कारण हो भन्ने बारेमा खोजीको काम हुने छ । मातृ मृत्यु भएको खण्डमा मृतकको घरमा गएर चार वटा प्रश्न सोधिनेछन् । मृतकको मृत्यु गर्भ बोकेको अवस्थामा भएको हो ? सुत्केरी वा सुत्केरी भएको ४२ दिनभित्र मृत्यु भएको हो ? सुत्केरी व्यथा लागेको बेलामा मृत्यु भएको हो ? र गर्भपतन बनाउने बेला वा त्यसको ४२ दिन भित्र मृत्यु भएको हो भनेर पश्न सोधिने छ ।

मातृ मृत्यु भएको खुल्न आएका तथ्याङ्क संकलन गर्ने र मातृ मृत्युलाई घटाउन पहल गरिने छ । अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले जनचेतनाको अभाव र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध नहुँदा सुत्केरी तथा जटिल प्रकारका गर्भवतीले अकालमा ज्यान गुमाउने नौवत सिर्जना हुने गरेको बताउनुभयो ।्

स्वास्थ्य कायालयका प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, प्रहरी निरीक्षक कृष्ण खत्री, यूएनएफपीएका जिल्ला संयोजक भूवन सेजुवाललगाएत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत दिपा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्याम चौधरीले गर्नुभएको थियो ।